गान्तोक: पूर्वोत्तर राज्य सिक्किममा ३-४ अक्टोबरको अबेर राति हिमताल विस्फोटका कारण उत्तर सिक्किमको दक्षिण लोनाक झीलमा विनाशकारी बाढ आएपछि टिस्टा नदीको जल स्तर ५०-६० फीटको उँचाईसम्म पुग्नुको कारणले तल पर्ने इलाकाहरूमा विनाशकारी बाढ आएको थियो। बाढले बुनियादी पूर्वाधारका साथै सम्पत्तिको व्यापक क्षति हुनगयो र मानव जीवनको हानिबारे पनि सूचना प्राप्त भएको छ। राज्य सरकारको अनुमान अनुसार कूल १४२ मानिस निखोज छन् जसमध्ये अहिलेसम्म २६ जनाको लाश उद्धार गरिसकिएको छ। खराब मौसम अनि निरन्तर वर्षाका कारण नोक्सानीको सटीक अनुमान अहिलेसम्म लगाउन सकिएको छैन। क्षेत्रमा तैनाथ भारतीय सेना पनि यस बाढबाट प्रभावित भएको छ। टिस्टा नदीको तटमा अवस्थित केही शिविर बगेको छ। अचानक आएको बाढका कारण सिङताम नजिक बरदाङमा एउटा वाहन बिसाउनी क्षेत्र प्रभावित भयो, जहाँ अस्थायी रूपमा रातका लागि विश्राम गरिरहेका २३ सैनिक अनि ३९ वाहन भलमा दबिए वा बगेका थिए। घटना स्थलमा ३०-४० फीट अग्लो लेदो माटो थुप्रिएका कारण अधिकांश गाडी यसमा दबेका छन्। भारतीय सेना, बीआरओका साथै एनडीआरएफ, राज्य आपदा राहत टोली, अर्धसैनिक बल, पुलिस, नागरिक प्रशासन अनि सिक्किम तथा उत्तर बङ्गालका स्थानीय मानिसहरूद्वारा तत्काल व्यापक रूपमा खोज एवं बचाउ अभियान शुरु गरिएको छ। ४ अक्टोबरको साँझ, बरदाङदेखि १८ किलोमिटर तलका क्षेत्रमा ग्रामीणहरूले एकजना सैनिकलाई बचाएका थिए। जसको स्थिति चिकित्सीय हेरचाहपछि स्थिर बताइन्छ। उत्तर बङ्गालमा नदी किनाराका विभिन्न इलाकाबाट अहिलेसम्म 26 वटा लाश फेला पारिएको छ भने चारवटा लाश बङलादेश सीमा बलद्वारा सुम्पिएको छ। फेला परेका २६ वटा लाशमध्ये आठजनाको पहिचान भारतीय सेनाका जवानको रूपमा गरिएको छ। अलिपुरद्वारका बासिन्दा नायक बिमल ओरावँको अन्तिम संस्कार ६ अक्टोबर, २०२३ को दिन पूर्ण सैन्य सम्मानका साथ गरियो। चार सैनिकको लाशलाई परिवारका सदस्यहरूको उपस्थितिमा अन्तिम संस्कारका लागि सेवा एवं नागरिक विमानद्वारा ७ अक्टोबरको दिन उनीहरूका गृहनगर पुऱ्याउने काम गरियो। दुईवटा लाशको पोस्टमर्टम गरिँदैछ। बाँकी १४ जवानको खोजका लागि सर्च अपरेशन जारी छ। डोजर अनि संयन्त्र उपकरणले बरदाङको घटना स्थलमा खन्ने काम गरिहेको छ। ६ अक्टोबरदेखि रडार (लियो लाइफ डिटेक्टर रडार, रीकाडोर) अनि सैन्य कुकुरलाई पनि राहत कार्यमा लगाइएको छ। अङिलेसम्म बेपत्ता ३९ वाहनमध्ये १५ वाहन खोजी निकालिएको छ। नदीको बहाउ क्षेत्रको तल्लो इलाकातिर भारतीय सेनाको विभिन्न शिविरबाट केही गोला-बारूद, विस्फोटक अनि भण्डार बगेको पनि जानकारी प्राप्त भएको छ। भारतीय सेनाले नागरिक प्रशासन, राज्य पुलिसका साथसाशातै लुक आउट टीम तैनाथ गरी यस्ता कुनै वस्तु यदि कोही स्थानीयले देखे त्यसको जानकारी दिने चेतावनी पनि जारी गरेको छ। फेला परेका विस्फोटकहरूलाई नियन्त्रित तरिकाले नष्ट गर्नका लागि गोला-बारूद विशेषज्ञहरू पनि तैनाथ गरिएको छ। टिस्टा नदीमा कैयौं पुल क्षतिग्रस्त हुनुका साथै सडकको सतक पनि नष्ट भएका कारण सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग १० (एनएच-१०) को उपयोग बाधित हुनपुगेको छ। रम्फू-सिङताम सडक मार्गको बहालीकरण प्रगतिमा छ। पूर्वी सिक्किम हुँदै गान्तोकका लागि वैकल्पिक मार्ग उपलब्ध छ भने पश्चिम र दक्षिण सिक्किमको निम्ति पनि मार्ग उपलब्ध छ। तथापि, उत्तरी सिक्किममा मगनदेखि अघिको सडक अझ पनि काटिएको छ। पूर्वी कमानका जीओसी-इन-सी लेफ्टिनेन्ट जेनरल आरपी कलिताले त्रिशक्ति कोरका जीओसी लेफ्टिनेन्ट जेनरल भीपीएस कौशिकका साथ नोक्सानीको अनुमान लगाउन र राहत कार्यको योजना बनाउनका लागि ६ अक्टोबरको दिन हवाई सर्वेक्षण गरे। भारतीय सेनाका इञ्जिनियर, एनएचआइडीसीएल तथा राज्य सरकारका अधिकारीहरूका साथमा बीआरओका महानिर्देशकले क्षतिको आकलन गरी सडक सम्पर्क बहाल गर्नका लागि सर्वेक्षण गरिरहेका छ्। यसैबीच चुङथाङलाई पैदल पुलले जोड्ने प्रयास जारी छ। भारतीय सेना अनि भारतीय वायु सेनाको हेलिकप्टरले आपातकालीन राहत सामग्री आपूर्ति अनि बचाउ कार्य लगातार जारी राखेका छन्। तर खराब मौसम अनि लगातार पानी परेका कारण हवाई अभियानमा बाधा आइरहेको छ। उत्तरी सिक्किममा लाचुङ अनि लाचेन घाटीका इलाकामा करिब १५ सय पर्यटक फसेको अनुमान छ। भारतीय सेनाले स्थानीय प्रशासनको सहयोगमा फसेका पर्यटक अनि स्थानीयहरूलाई भोजन, चिकित्सा र उपग्रह टर्मिनलको माध्यमद्वारा टेलिफोन केनेक्टिभिटी पुऱ्याएर सहायता प्रदान गरिरहेको छ। विभिन्न होटलमा रहेका सबै पर्यटकको जानकारी टीमले एकत्रित गरी कसैलाई सेनाको शिविरमा सारेको छ। भारतीय सेनाको त्रिशक्ति कोर मुख्यालयमा विशेष हेल्पलाइन स्थापित गरी सबै फसेका पर्यटकका परिवारलाई उनीहरू सकुशल रहेको सूचना दिइएको छ। सिक्किमको भित्री इलाका बाढीले प्रभावित भए तापनि वास्तविक नियन्त्रण रेखामा परिचालन स्थिति स्थिर छ। सीमा प्रबन्धनका लागि जिम्मेवार संस्थाहरूले उच्च स्तरको तयारीका साथ स्थायी अपरेशन अनुसार पर्याप्त रसद भण्डारको स्टक कायम गरेका छन्। भारतीय सेनाले सबै अभिकर्ता अनि नागरिक प्रशासनसँग मिलेर अथक खोज अनि बचाउ अभइयान जारी राख्नका साथै समन्वित तरिकाले सञ्चार अनि अन्य बुनियादी पूर्वाधारलाई पुनर्जीवित गर्ने दिशामा ध्यान केन्द्रित गरिरहेको छ।