गेजिङ: मानव सेवा नै माधव सेवा हो भन्ने उद्देश्य लिएर विभिन्न संघ संस्थाहरू अहिले सिक्किमलाई परेको विपत्तिमाथि करूणामय हात बढ़ाइरहेका छन्। जस अन्तर्गत आज याङ्थाङ क्षेत्रको जीवन ज्योति समाज साक्योङको अगुवाइमा सृजना सेवा समिति साक्योङ, ज्योति समाज, अप्पर याङ्ते समाज, माउन्टेन सोसाइटी, रमिते सुन्दरी सेवा सङ्घ, नवज्योति साक्योङ सेवा समिति समाज, जनचेतना समाज, लोटस सोसाइटी केरेम्थाङ्ग अनि साक्योङ वरिष्ठ माध्यमिक विद्यालयको सहयोगार्थमा संकलन गरिएको राहत सहयोग जङ्गुसम्म पुऱ्याएर त्यहाँका प्रभावित परिवार हस्तान्तरण गरियो. स्थानीय जिल्ला पञ्चायत लुङ्बोल जङ्गु, हिकेथाङ पञ्चायतलाई हस्तान्तरण गरिएको हो। उक्त समाजहरूले आफ्ना गाउँबाट आर्थिक सङ्कलन गरेर खाद्यान्न सामाग्री साथै अन्य आवश्यक सामाग्रीहरू यस ठाउँमा पुऱ्याएर एक उदाहरणीय कार्य गरेका छन्। जसअन्तर्गत उत्तर सिक्किमपछि यी सामाजिक संस्थाहरूले तारखोलामा रहेको राहत शिविरमा पनि बाढ़ी प्रभावित परिवारलाई खाद्यान्न सामाग्री र कपड़ाहरू प्रदान गरेको छ। स्मरण रहोस्, गत ४ अक्टोबरको प्राकृतिक विपत्तिमा टिस्टा खोलाले प्रभावित पारेका परिवारप्रति मानवताको नाताले यति धेरै टाढ़ाबाट यस स्थानमा आएर प्रभावित परिवारलाई भेटेर शान्तवना दिएकोमा स्थानीय पञ्चायतले संस्थाहरूलाई धन्यवाद दिएको छ।

यसैगरी, जीवन ज्योति समाजका सल्लाहकार जीवन भट्टराईले आफूहरूले यस ठाउँमा आएर राहत वितरण गर्न पाउनु अहोभाग्य हो भन्दै पीड़ित परिवारप्रति शान्तवना दिएका छन्। उनले यी राहत सामाग्रीहरूलाई पीड़ितहरूको घरमा नै पुऱ्याउने उद्देश्य लिएर हिँड़ेका हुन् तर यातायात, सड़क सम्पर्क विच्छिन्न भएको कारण स्थानीय पञ्चायत र जिल्ला पञ्चायतलाई राहत सामाग्री हस्तान्तरण गरेको बताए।