खरसाङ: गत साँझ “१०० दिने कामको पैसा झट्टै देऊ, मजदुरले गरेको कामको ज्याला फर्काई देऊ ‘ जस्ता नारा गुञ्जियो, गोर्खा भवन सामुन्ने जब राज्यका राज्यपाल सी भी आनन्दको लश्कर राजभवन तर्फ गयो।धर्ना अनि विक्षोभ प्रदर्शनको मुख्य कारण तीन वटा बताइएको छ। एक, २०२० मा सम्पूर्ण पहाडको ग्रामीण क्षेत्रमा १०० दिने काम भएको थियो। तर आज सम्म मजदुरहरूले काम गरेको ज्याला पाएको छैन। त्यो झट्ट पाउनु पर्छ। दोस्रो २०२२ मा १०० दिने काम नै भएन। नियम अनुसार १०० दिने काम नभएको खण्डमा मजदुरले ५०% मजदूरी ज्याला पाउनु पर्छ। त्यो ५०% ज्याला पनि झट्ट पाउनुपर्छ। तेस्रो, २०२३ को १०० दिने काम झट्ट भन्दा झट्ट सुरु हुनु पर्छ। एक श्रमिक नेताले भने, “सरकारले बनाएको कानुन, सरकारले नै उल्लङ्घन गर्दैछ। जब कार्ड धारीहरूले १०० दिने काम मार्फत रोजगार पाएको हुनुपर्छ।” प्रदर्शनकारीहरु रङ्लि रङलियट चियाबारी क्षेत्रका श्रमिकहरू अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक नेतृत्वहरू थिए।