अलिपुरद्वार। राष्ट्रिय एकता दिवस २०२३ को अवसरमा भारतको एकता, अखण्डता र महिला सशक्तिकरणको प्रदर्शन गर्दै, विश्वको सबैभन्दा ठूलो अर्धसैनिक बल केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले देशको भिन्न-भिन्नै मार्गहरु उत्तरमा श्रीनगर दक्षीणमा कन्याकुमारी, पूर्वमा शिलङ र पश्चिममा एकता नगर गुजरातदेखि सीआरपीएफ महिला मोटर साइकल अभियान गत ३ अक्टूबरको दिनदेखि ३१ अक्टोबर २०२३ सम्म आयोजना गरिएको छ। जसमा ३० वटा मोटरसाइकलमा ६० जना सीआरपीएफ महिला बाइकरहरूले छोरी बचाऔँ-छोरी पढाऔँ, महिला सशक्तिकरण र देशको एकताको सन्देश फैलाउँदै १५ राज्य र २ केन्द्र शासित प्रदेश हुँदै १० हजार किलोमिटरको दुरी तय गर्नेछन्। यस क्रममा, शिलङबाट प्रस्थान गरिएका सीआरपीएफ महिला मोटर साइकल अभियान ग्रुप केन्द्र सीआरपीएफ गुवाहाटीबाट १३६ कोर सीआरपीएफ नलबारी, १० कोर सीआरपीएफ बारपेटा, १५६ बटालियन सीआरपीएफ बोगाइगाउँ, एफ/१२९ बटालियन, सीआरपीएफ क्याम्प, श्रीरामपुरको बाटो एकताको सन्देश दिँदै शनिबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय पुगेको थियो। सो अवसरमा प्रमुख अतिथिको रुपमा फालाकाटाका विधायक दीपक बर्मन, सीआरपीएफका डीआईजी (अपरेशन) सुनन्द कुमार, सीआरपीएफ लोवर असम, एचआर बरोट, एसएसबी एफटीआर मुख्यालय सिलगढी, लगायत विशिष्ट अतिथिहरूद्वारा झण्डा लहराएर स्वागत गरिएको थियो। सो क्रममा १२९ गणका कमाण्डेन्ट मनमदन कृष्णनले प्रमुख अतिथिलाई पुष्पगुच्छा र गाम्छा प्रदान गरी स्वागत गरेका थिए। प्रमुख अतिथिले आफ्नो ऊर्जावान आह्वानद्वारा सबै महिला सीआरपीएफ मोटरसाइकल चालकहरूको मनोबल बढ़ाएको थियो। त्यसपछि अतिथिहरू, मोटरसाइकल चालकहरू र स्कूल/एनसीसी बच्चाहरूलाई भोजन खुवाइएको थियो।

यस अवसरमा विद्यालयका बालबालिका र सीआरपीएफ जवानहरूद्वारा रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो र प्रमुख अतिथि र उपस्थित सबै आगन्तुकहरूलाई धन्यवाद दिँदै मुख्य अतिथिलाई सीआरपीएफद्वारा स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रम पश्चात मुख्य अतिथिद्वारा सीआरपीएफ महिला बाइक अभियानलाई झण्डा देखाएर अर्को स्टप, सिलगढ़ीतर्फ प्रस्थान गराईएको थियो।