कोलकाताः केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले ममता सरकारका मन्त्री एवं कोलकाताका मेयर फिरहाद हकीमको कोलकातास्थित ठेगाना सहित राज्यभरिका १२ स्थानहरूमा आइतवार छापामारीको कारबाही गऱ्यो। जाँच एजेन्सीले यो कारबाही नगर निगममा भ्रष्टाचारसित सम्बन्धित मामिलामा गरेको हो। सीबीआईले एक बयान मार्फत यस कारबाहीको पुष्टि गरेको छ।
सीबीआईको कारबाही अवधि फिरहाद हकीमको सम्पूर्ण घरलाई केन्द्रिय अर्द्धसैनिक बलका जवानहरूले घेरेका थिए। सीबीआईका अधिकारीहरूले घरभित्र खानतलासी गरे। सीबीआई सूत्रले बताए अनुसार कारबाही अवधि न बाहिरबाट कसैलाई भित्र प्रवेश गर्ने अनुमति दिइयो न भित्रबाट कसैलाई बाहिर आउने अनुमति दिइयो। सीबीआई टीमले बिहानै मन्त्री फिरहाद हकीमको घरमा पुगेर कारबाही शुरू गऱ्यो। कारबाहीको क्रममा कतिपय दस्तावेजहरू जाँच एजेन्सीको हातमा परेको छ। फिरहाद हकीमकी छोरी प्रियदर्शनी घर बाहिर थिइन्, सीबीआई अधिकारीहरू भित्र प्रवेश गर्नसाथ घरका सबै ढोकाहरू बन्द गरिदिए जसले गर्दा प्रियदर्शनीलाई घण्टौंसम्म बाहिर नै बस्नुपऱ्यो। सीआरपीएफका अधिकारीहरूसित उनको बहस पनि भयो जसपश्चात तिनलाई घरभित्र प्रवेश गर्ने अनुमति दिइयो।
अर्कोतिर उत्तर २४ परगनाको कामरहाटीस्थित तृणमूल विधायक एवं पूर्व मन्त्री मदन मित्रीको घरमा पनि सीबीआईको टीमले कारबाही गरेको छ। जिल्लाको हालीशहर अनि कंचरापारास्थित केही तृणमूल नेताहरूको घरमा समेत एजेन्सीले छापामारीको कारबाही गरेको छ। उल्लेखनीय छ, शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्राउ गरिएको हुगली जिल्लाका प्रमोटर अयन सिलको घरबाट नगर निकायहरूमा नियुक्तिसित सम्बन्धित दस्तावेजहरू हात लागेको थियो। त्यसपछि अदालतको आदेश अनुरूप केन्द्रिय जाँच एजेन्सीले मामिलाको जाँच गरिरहेको छ।