१५ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजन गरिने इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। आउँदो २४ जुलाईदेखि शुरु हुने यस टुर्नामेण्टमा १६ वटा नामी-दामी टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टको उद्घाटन म्याचमा सिलगढ़ी पुलिस कमिश्नरेट र ब्रूट बोइज (सिलगढ़ी)-बीच भिड़न्त हुनेछ। क्वार्टर फाइनल चरण ३ अगस्तदेखि शुरु हुनेछ भने दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। सेभोक प्राइमरी स्कूल मैदानमा हुने यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।