सरकार सदैव प्रभावित परिवारको साथमा रहने मुख्यमन्त्रीले दिए वचन
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उत्तर जिल्लाको नागा, डिक्चु र चाँदेका प्रभावित परिवारसँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुने।
आफ्नो भ्रमण अवधि मुख्यमन्त्रीले नागाका विस्थापित परिवारलाई मुख्यमन्त्री राहत कोषबाट एक-एक लाख रूपियाँ प्रदान गर्ने घोषणा गरे। स्थानीयहरूको समस्या समाधान गर्न राज्य सरकार प्रतिवद्ध रहेको पनि उनले विश्वास दिलाए।
पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले पूर्व सरकारले राम्रो र गुणस्तरीय बाँध निर्माण गरेको भए आज यस प्रकारको अवस्था सृजना नहुने पनि जानकारी गराए। यसरी नै उनले जङ्गुलाई जोडने साङकलङ पुलको भ्रमण गरेर वैकल्पिक पुल बनाउनको निम्ति शीघ्र पहल शुरू गर्नुपर्ने निर्देश दिए। यसरी नै उनले चाँदेका प्रभावित परिवारसँग पनि आईटीआई कलेजमा भेट गर्दै उनीहरूको समस्या र गुनासो सुने।
उनीहरूको समस्या र गुनासो सुनेपछि सरकारको तर्फबाट हुने सबै प्रकारको सहयोग प्रदान गर्ने र सरकार सदैव पीडित परिवारको साथमा रहेको बताए।