मुख्यमन्त्रीको निर्देशमा मन्त्री भीमहाङ सुब्बाको नेतृत्वमा एउटा टोली हिँडेर पुग्यो चुङथाङ

00-1-Rajya-Samachar-1

गान्तोक: गत केही दिन अघिदेखि उत्तर जिल्लाको चुङथाङ सम्पर्क विच्छेद बन्न पुगेको र त्यहाँ राहत सामग्री पनि पुग्न नसकेको अवस्थालाई ध्यानमा राख्दै आज मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा मन्त्री भीमहाङ सुब्बा, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र एसकेएम पार्टी कार्यालयबाट रमेश सुब्बा हिँडेर चुङथाङ पुगे।

सडक सम्पर्क बिच्छेद बन्न पुगेपछि उक्त टोली केही राहत सामग्री लिएर चुङथाङका प्रभावित परिवारलाई पुऱ्याउने उद्देश्य लिएर हिँडेर चुङथाङ पुगेको जानकारी गराइएको छ। सडक र हवाई मार्ग भएर पनि जान नसक्ने अवस्था देखेपछि मुख्यमन्त्रीको आदेशलाई शिरोपर गर्दै उक्त टोलीले चुङथाङ पुगेर त्यहाँका प्रभावित परिवारलाई राहत सामग्री पुऱ्याउने उद्देश्य लिएर हिँडेर भए पनि चुङथाङ पुग्ने निर्णय लिएको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी गराएका छन्।

उल्लेखनीय छ, गत केही दिनअघि उत्तर जिल्लाको ल्होनाक झीलमा बादल फाटेपछि झील पड्किएको थियो र झीलको पानी टिस्टा नदीमा मिसिएपछि यसले चुङथाङ लगायत राज्यका विभिन्न भागलाई क्षति पुऱ्याएको छ।

चुङथाङ पुग्नको निम्ति सडक मार्ग पूर्णरूपमा ध्वस्त बनेपछि वैकल्पिकको रूपमा रहेको हवाई मार्ग पनि प्रतिकूल मौसमका कारण उडान भर्न सक्ने स्थिति छैन। यस विषयलाई ध्यानमा राख्दै टोलीले हिँडेर जाने निर्णय लिएको खालिङले बताए। टोली केही दिनसम्म त्यहाँ रहेर त्यहाँको वास्तविक स्थिति बुझेर मुख्यमन्त्रीलाई रिपोर्ट बुझाउने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement