कालचिनीः चिया श्रमिकहरूले बोनसलाई लिएर शुक्रबार कोलकत्तास्थित च्याम्बर अफ कमर्समा सीसीपीएसित बसिएको बैठक फेरि एकपल्ट बिना निष्कर्ष विफल बनेको छ। बैठकमा २० प्रतिशत बोनस श्रमिकहरूले पाउन पर्छ भन्ने अड़ानलाई मालिकपक्षले स्वीकार गर्न असर्मथता जाहेर गरेपछि ट्रेड यूनियन प्रतिनिधिहरूले बैठक छोड़ेको थियो भने आगामी १० अक्टोबरको दिन पुनः बोनस लिएर बैठक सम्पन्न हुने तृणमूल चियाबारी श्रमिक यूनियनका अध्यक्ष बिरेन्द्र बारा उराँवले जनाएका छन्।
बोनस बैठक विफल बनेपछि शनिबार कालचिनी खण्डको विभिन्न चियाबारीमा एक घन्टाको गेटसभा सम्पन्न भएको थियो।
कोलकत्तामा बोनस बैठकबारे यूनियन प्रतिनिधिहरूले श्रमिकहरूलाई अवगत गराउँदै २० प्रतिशत बोनस पाउनु श्रमिकहरूको हक रहेकोले यूनियनले यसमा सम्झौता गर्न नसक्ने र जबसम्म २० प्रतिशत बोनस तय हुँदैन तबसम्म चियाकमानमा गेटसभा हुने ट्रेड यूनियन नेताहरूले जनाएका छन्। तृणमूल चियाबारी श्रमिक यूनियनका अध्यक्ष बिरेन्द्र बारा उराँवले कमानको मालिकहरूले चियाकमानमा श्रमिकहरूलाई आवास दिन नपरेको, बाटोघाटो बनाउन नपरेको र रासन सबै सरकारले दिइरहेको तर पनि बोनस २० प्रतिशत दिन किन नसक्ने भन्दै राज्य सरकारले हरेक मदत चियाबारीमा पुऱ्याइरहेको छ तर बोनस २० प्रतिशत नै दिनुपर्छ भन्ने कुरामा टीसीबीएसयू अडिग रहने जनाएका छन्। शनिबार यस क्रममा कालचिनी खण्डको सेन्ट्रल डुवर्स चियाबारी, बीच चियाबारी एवम् अन्यान्य चियाबारीहरूमा २० प्रतिशत बोनस दिनुपर्ने दाबीमा ट्रेड यूनियनहरूले साझा गेटसभाको आयोजना गरेको थियो।