कालचिनीः भारत-भोटाङ सीमा क्षेत्र जयगाउँमा सुरक्षाका लागि तैनाथ एसएसबी ५३ वाहिनीले ठूलो तस्करीको योजनालाई फेरि असफल बनाएको छ। शनिबार अबेर राती एसएसबीका कर्तव्यरत जवानहरुले सुन, चाँदी, हिरा, बहुमूल्य पत्थर र अन्य गहनासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेका थिए। भोटाङबाट सुन, चाँदी, हिरा र धेरै बहुमूल्य गहना अवैध रूपमा भारत लैजाने योजना बनाइएको जानकारी एसएसबी ५३ वाहिनीले थाह पाएपछि एसएसबी जयगाउँ इन्चार्ज रोहित कुमारको नेतृत्वमा उक्त टोलीले योजनाबद्ध अपरेशन गरी साँझ भोटाङबाट जयगाउँ छिरेके एकजना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

उक्त व्यक्तिको झोलाको खोजी गर्दा त्यसमा लुकाएर राखिएका सुन, चाँदी, हिरा, स्टोनजस्ता बहुमूल्य गहना बरामद भएको थियो। यस ठाउँबाट एसएसबीले बरामद गरेको गहना र पक्राउ परेका भारतीय नागरिकलाई जयगाउँ कस्टम विभागलाई सुम्पिदिएको थियो। भारतीय नागरिकबाट बरामद गरिएका गहनाको मूल्य करिब ४० लाख रुपियाँ रहेको एसएसबी सुत्रले जनाएका छन्। आगामी दिनमा पनि यस्तै अभियान जारी रहने एसएसबी सुत्रले थप जनाएका छन्।