टिस्टा: कोलकाता भ्रमणमा रहेका जीटीए प्रमुख कार्यपाल अनित थापा पहाड फर्के। आजदेखि थापा टिस्टामा नै डेरा हालेर बस्ने बताइएको छ। मल्लीको पैह्रो पैदल पार गरेर उनले रम्फूको पनि स्थलगत निरीक्षण गरे। यसावधि उनले पीडितहरुसँग भेटघाट पनि गरेका छन्। उनले कोलकाता भ्रमण फलदायक रहेको बताउँदै भने, “जीटीएलाई राहतको निम्ति राज्य सरकारले २५ करोडको सहायता प्रदान गरेको छ। रकम केही दिनभित्रमा नै जीटीएलाई पठाउनेछ।”
उनले थप भने, “वर्तमानको आवश्यकता पिढीतहरूलाई बुनियादी सुविधा जस्तै खाना, बस्ने ठाउँ, लुगा फाटाको प्रबन्धन गर्नु हो जुन हामीले गरिसकेका छौं। अब म दार्जीलिङ्ग अनि कालेबुङका जिल्लापालहरूसँग बैठक बसेर विस्थापितहरूको निम्ति जमीन निकाल्नेछु। जमीन पाएपछि उनीहरूको वासको व्यवस्था गर्नेछु।”
थापाको घोषणाको केही समयपछि मुख्य मन्त्री ममता बनर्जीले X मार्फत भनिन् “सिक्किममा हाम्रा दाजुभाइ र दिदी-बहिनीहरूलाई हालैको प्रकोपले प्रहार गरेको छ भने दार्जिलिङ पहाड र कालेबुङमा पनि मेरा मानिसहरूलाई प्रहार गरेको छ। पश्चिम बंगालको संवेदनशील क्षेत्र चिकन नेक प्रभावित भएको छ। बाढी आएको रातदेखि नै जनतालाई थप विपदबाट जोगाउन म मेरो सम्पूर्ण प्रशासनसँग २४ घण्टा काम गर्दै आएको छु। पहाडमा जीटीएलाई २५ करोड सहयोग दिएका छौं।”

मन्त्रीहरू र वरिष्ठ आईएएस अधिकारीहरू र टोलीहरू अहिले पनि घटनास्थलमा रहेको बताउँदै उनले भनिन्, “प्रकोपको गम्भीरता र मृत्युको संख्याको बावजुद दार्जिलिङ र कालेबुङ र उत्तर बंगालका हाम्रा प्रभावित जनताहरूप्रति केन्द्रीय भेदभाव देखेर म स्तब्ध छु। हामी भिखारी होइनौं। हामी सिक्किमको पक्षमा छौं तथापि केन्द्रको सहयोग हुँदा हामीलाई भेदभाव होइन, समानताको अपेक्षा राख्छौ।”
स्मरण रहोस् हिजो मात्र केन्द्र सरकारले सिक्किम राज्यलाई राहतको निम्ति सुरुवाती रकम रू ४४.८० करोड दिने घोषणा गरेको थियो। केन्द्रको घोषणामाथि आफ्नो प्रतिक्रिया दिँदै थापाले भनेका थिए, “कालेबुङ पनि भारत कै एउटा जिल्ला हो। तर कालेबुङले केन्द्रबाट कुनै सहायता पाएन। यसले भाजपाको दार्जीलिङको गोर्खा प्रतिको दृष्टिकोण स्पष्ट देखाउँछ।”