जेरूसलम: इस्लामिक लडाकु समूह हमासका दर्जनौँ बन्दुकघारी दक्षिणी इजरेलमा अचानक प्रवेश गरेर आक्रमणमा गरेको खबर आएको छ। इजरेलको सेनाले “परिस्थितिको मूल्याङ्कन” गर्दै गाजा स्ट्रिपमा आक्रमणकारी भएका स्थानहरूमा प्रहार गरिरहेको बताएको छ।यसअघि इजरेलतर्फ दर्जनौँ रकेटहरू प्रहार गरिएको थियो। त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए। आक्रमणका कारण एकजना व्यक्तिको ज्यान गएको छ भने तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका छन्।प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको छ।
उसको सशस्त्र बलले २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ।इजरेली रक्षा बल (आईडीएफ)ले हमासले “गाजा स्ट्रिपबाट इजरेली क्षेत्रमा ठूलो मात्रामा रकेट प्रहार गर्न थालेको” र सशस्त्र लडाकुहरू “विभिन्न स्थानबाट” इजरेली क्षेत्रमा प्रवेश गरेको बताएको छ। एउटा वक्तव्यमा इजरेली सेना प्रमुखले “परिस्थितिगत मूल्याङ्कन” गरिरहेको र हमासले “ती घटनाहरूको परिणाम भोग्नुपर्ने” बताएको उल्लेख गरिएको छ। गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न भनिएको छ भने दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई “सेल्टरको छेउमा बस्न” भनिएको छ।इजरेयलको एउटा उद्धार एजेन्सीले एक जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताएको छ। रोएटर्सले लिएको एउटा भिडिओमा इजरेली अग्निनियन्त्रकहरूले आश्केलोन सहरमा आगो निभाउँदै गरेको देखिन्छ भने जलेका सवारी साधनहरूबाट धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ। इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रकेट आक्रमणबारे छलफल गर्न सुरक्षा प्रमुखहरूको बैठक बस्न लागेको जनाएको छ।हमासका नेता मोहम्मद डेफले शनिवार बिहान इजरेलतर्फ पाँच हजार वटा रकेट प्रहार गरिएको बताएका छन्। त्यसलाई उनले “अपरेशन अल-अक्सा स्टर्म” भनेका छन्। “हामीले अति भनेको त अति नै हुन्छ भनेर यो निर्णय गरेका हौँ,” उनले भने।”हामीले पहिले नै शत्रुलाई चेतावनी दिएका छौँ। उनीहरूको कब्जाले कैयौँ नागरिकहरूको नरसंहार भएको छ। उनीहरूले गरेको कब्जाको अपराधका कारण यो वर्ष सयौँ शहीद र घाइते भएका छन्। “हामी ‘अपरेशन अल-अक्सा फ्लड’ सुरु भएको घोषणा गर्छौँ र हामी घोषणा गर्छौँ- पहिलो प्रहारले शत्रुका स्थान, विमानस्थल र सैन्य किल्लालाई लक्षित गरेको थियो र हामीले पाँच हजार रकेटहरू प्रहार गर्यौँ।”