आपदको बेला सबै मिलेर बनाए जङ्गु फेदाङमा टिस्टा पार गर्ने घिर्लिङ

n54475949016966166730534409b12f93b07373b095f8fe67c26386bd6767d27ab13370c3e659d3d5f042c1.jpg

पहिलो खेपमै डिक्चु पीएससीले पठायो औषधी

गान्तोक: उत्तर सिक्किमको दुर्गम जङ्गुको फेदाङका गाउँलेहरूले जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ पारेका छन्। ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा आएको जलप्रकोपले जङ्गुको सबै नाकामा रहेको पक्की र कच्चा पुल भत्किएपछि संसारसित अलग हुन पुगेको फेदाङका गाउँलेहरूले आपसी सहयोगमा हिजोदेखि बनाउन शुरु गरेको घिर्लिङ आज बनाइसकेका छन्।

सरकार र सम्बन्धित निकायको हात नहेरे आपदको बेलामा सबै एक भएर स्थानीयहरूले जगेरा गरेका सर समानको भरमा आज दिउँसोदेखि फेदाङ गाउँ तर्ने घिर्लिङ बनाएर एकता र इच्छा-शक्तिको परिचय जनता आफैले दिएका छन्। गाउँको धेरै घर टिस्टाले बगिएका छन्। एकजनाको ज्यानसमेत गएको छ। तर बाँचेका गाउँलेहरूले जीवन फेरि उठाउन चाहन्छन्। त्यसैले एकार्काको हातेमालो र हौसलाले बनियो घिर्लिङ।

घिर्लिङ बनिएपछि सबैभन्दा पहिले डिक्चु प्राथमिक स्वास्थ्य केन्द्रबाट पठाइयो पहिलो खेपमै फेदाङ र वरिपरिका गाउँलेहरूको निम्ति आवश्यक औषधीको एक कार्टुन। फेदाङलाई जोडिएपछि छिमेकी गाउँहरूलाई पनि राहत र खाद्य सामग्री पुऱ्याउने काममा घिर्लिङ सहयोगी सिद्द हुने पूर्व जिल्ला पञ्चायत सदस्य तथा सक्रिय सामाजिक कार्यकर्ता छिरिङ ग्याछो लेप्चाले बताएका छन्। फेदाङलाई जोड्ने दुईवटा पुल थियो जो बाढीले बगाएर लगेपछि फेदाङसितै जोडिएका अन्य गाउँहरू पूर्ण रूपमा विछिन्न बनेको छ।

About Author

Advertisement