गान्तोक: आपदाको बेला स्वास्थ्य सेवा सबैभन्दा चाहिने सेवा भए पनि उत्तर सिक्किमको डिक्चु प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो चार दिनदेखि बिजुली छैन। टिस्टामा जल ताण्डव आउन एक दिन अघिदेखि नै यस स्वास्थ्य केन्द्रमा बिजुली ठप्प भएको छ, जसको कारण स्वास्थ्यकर्मीहरूलाई धेरै असुविधा भएको छ।
स्वास्थ्यकर्मी मात्र नभएर रात परेपछि स्वास्थ्य केन्द्रमा सुरक्षा खोजेर आउने मानिसहरूसमेत बिलखबन्दमा छन्। आपदा आइलागेको समयमै बिजुली ठप्प हुनुले यहाँ धेरै कुरामा असुविधा र समस्या भएको छ। यो स्वास्थ्य केन्द्र उत्तर सिक्किमका वासिन्दाका निम्ति स्थापित गरिएको भए तापनि सीमा क्षेत्रमा भएकाले यहाँ अधिकांश पूर्व जिल्लाका मानिसहरू उपचार गर्न आउँदछन्।
यहाँ पानीको पनि संकट भइरहन्छ। एकपल्ट पानी बन्द भएपछि निक्कै दिनसम्म आपूर्ति ठप्प रहन्छ, जसको कारण यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई समस्या परिरहने गर्दछ। स्वास्थ्य केन्द्रमा जेनेरेटर छ, तर अहिले यसलाई चलाउने तेल छैन। वरिपरि उज्यालो राख्न सौर्य उर्जाले चल्ने बत्ती जडान गर्न पाए पनि धेरै सुविधा हुने भुक्तभोगीहरू बताउँछन्।
सम्बन्धित विभागहरूले यस स्वास्थ्य केन्द्रको समस्यालाई गम्भीरतापूर्वक लिएर प्रभावकारी पहल गरिदिनेछ भन्ने आशा स्थानीयवासीले राखेका छन्। यस घडी स्वास्थ्य केन्द्रमा औषधि, स्वास्थ्य सेवीहरूको भण्डारण भने पर्याप्त रहेको बताइएको छ।