हाङझाउ: भारतीय हक्की टोलीले एसियाली खेलकुद २०२३ मा इतिहास रचेको छ। शुक्रबार चीनको हाङझाउमा भएको खेलमा जापानलाई पराजित गरेको हो। हक्कीको फाइनल खेलमा भारतीय टोलीले जापानको सामना गरेको थियो। जसमा भारतीय टोलीले जापानलाई ५–१ ले हराएको छ। योसँगै भारतीय टोलीले एसियाली खेलकुदको इतिहासमा चौथो पटक स्वर्ण पदक जितेको छ। यससँगै टीम इन्डिया पेरिस ओलम्पिक २०२४ को लागि क्वालिफाई भएको छ।भारतले खेल ५–१ ले जिते पनि खाता खोल्न निकै मिहिनेत गर्नुपरेको थियो। पहिलो क्वार्टरमा कुनै गोल हुन सकेन भने दोस्रो क्वार्टर पनि उस्तै चलेको देखियो। दोस्रो क्वार्टरको अन्त्यमा भारतीय पूर्व कप्तान मनप्रीत सिंहले गोल गर्दै खाता खोलेका थिए। त्यसपछि भारतका लागि गोलको बाढी आयो। हरमनप्रीत, अमित, अभिषेकको उत्कृष्ट प्रदर्शन।तेस्रो क्वार्टरदेखि नै भारतले लगातार गोल गर्न थाल्यो। तेस्रो क्वाटरको सुरुमै कप्तान हरमनप्रीत सिंहले पेनाल्टी कर्नरबाट गोल गर्दै अग्रता २–० मा पुर्याएका थिए। सोही क्वार्टरमा पेनाल्टी कर्नरबाट अर्को गोल गरे र यस पटक अमित रोहिदासले सफलता दिलाए। चौथो क्वाटरमा पनि यो क्रम जारी रह्यो र अभिषेकले भारतको अग्रता ४–० ले बढाएर जितमा शिलबन्दी गरे। यस अवधिमा जापानले एक गोल गरेर खाता खोलेको थियो तर त्यो पर्याप्त भएन। खेल सकिन २ मिनेटअघि भारतीय कप्तान हरमनप्रीतले खेलको दोस्रो र पाँचौं गोल गर्दै भारतको जितमा शिक्कामोर्तब गरे।