दार्जिलिङ: कालेबुङलाई केन्द्र सरकारले किन सहायता गरेन?कालेबुङ जिल्ला पनि भारत भित्र नै पर्छ भनी जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज बताएका छन्। आज कोलकाताको नवान्नमा उनले राज्यका मुख्य सचिव एचके दुबेदीसँग बैठक बसेका थिए। कालेबुङ जिल्लामा भएको बाढको प्रभाव अनि क्षति विषय चर्चा गरेका थिए। त्यसै समय उनले राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग पनि फोनमा बात गरेको र उनीसँग प्राकृतिक प्रकोपका कारण पहाडमा भएको क्षतिबारे छलफल भएको बताइएको छ। जीटीए चिफ् अनित थापाले उक्त बैठक विषयमा प्रेय विज्ञप्ति जारी गर्दै भने, ‘मलाई सहयोगको वचन दिँदै राज्य सरकारले कालेबुङ लगायत पहाडमा भएको क्षतिको समीक्षा गरिरहेको छ। माननीय मुख्यमन्त्री पहाडको अवस्थालाई लिएर चिन्तित हुनुहुन्छ।’
उनले अघि भनेका छन् – ‘केन्द्र सरकारले आज मात्र सिक्किम राज्यलाई क्षतिको सहायता स्वरूप रु ४४.८० करोड सुरुवाती अनुदान दिने घोषणा गर्यो। कालेबुङ जिल्लालाई किन कुनै सहायता दिईएन? कालेबुङ जिल्ला पनि भारतभित्र नै पर्छ। हाम्रो क्षेत्रले भाजपालाई तीन तीनपल्ट सांसद पठायौं। आज हामीले स्पष्ट देख्यौं कि दार्जीलिङका गोर्खाहरूलाई हेर्ने भाजपाको दृष्टिकोण कस्तो छ भनेर। केन्द्र सरकारले हामीलाई किन पैसा दिँदैन? यो समय संवेदनशीलता देखाउने समय हो, राजनीति गर्ने समय होइन। मलाई अच्चम्भ लाग्दैछ केन्द्र सरकारले टिस्टा बाढलाई किन सहयाेग दिनु मानेन? जसरी सिक्किम भारतको अभिन्न अंग हो, त्यसरी नै दार्जीलिङ्ग, कालेबुङ पनि हो। सिक्किमलाई सहायता चाहिन्छ, हामीलाई पनि चाहिन्छ।’
उनले अझ भने, कालेबुङ जिल्लामा कम्तीमा ३०० घरमा क्षति पुगेको छ। अहिले बाढ पिडितलाई राहत शिविरमा राखेका छौं। भोलिदेखि म टिस्टा क्षेत्रमा नै रहेर काम गर्नेछु।’