गान्तोक: टिस्टा त्रसदीमा ज्यान गुमाउने मानिसहरूका परिवारलाई सिक्किम सरकारले चार-चार लाख रुपियाँको अनुग्रह प्रदान गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री पीएस तामाङले आज पूर्व सिक्किमको रम्फू र सिङ्ताममा प्रभावित क्षेत्रको भ्रमणपछि मृतक व्यक्तिका परिवारजनलाई अनुग्रह राशि दिने घोषणा गरे।
सरकारले तत्काल राहतका लागि विस्थापित बनेर राहत शिविरमा रहेका प्रत्येक मानिसहरूलाई दुई-दुई हजार रुपियाँ प्रदान गर्ने र पछिबाट सम्पूर्ण क्षतिको आकलनपछि आवश्यक क्षतिपूर्ति प्रदान गरिने मुख्यमन्त्रीले घोषणा गरे।
विभिन्न कम्पनीमा कार्यरत विस्थापित बनेका राज्य बाहिरका श्रमिकहरूलाई घर जाने व्यवस्था मिलाउँदै सरकारले भोलिदेखि उनीहरूलाई सिलगढीसम्म पुऱ्याउने काम गर्ने पनि मुख्यमन्त्रीले जानकारी दिएका छन्। टिस्टा त्रसादीको आज तेस्रो दिन वितिसक्दा गान्तोक, नाम्ची, पाकिम र मगन जिल्लाको सडक सम्पर्क स्थापित रहेका स्थानमा राहत शिविर स्थापना गर्ने र प्रभावित मानिसहरूलाई अस्थायी निवासको चाँजो मिलाउने काम युद्ध गतिमा भइरहे पनि उत्तर सिक्किम चुङ्थाङ, लाचेन, लाचुङ लगायतका अन्य गाउँका मानिसहरूको स्थिति र अवस्थाबारे अझसम्म सत्य तथ्या बाहिर आउन सकिरहेको छैन।
यसैबीच एसडीआरएफको एउटा टोली आज शुक्रावार अबेर रातिसम्ममा भएपनि चुङ्थाङ पुग्ने प्रयासमा रहेको थाहा लागेको छ। राज्य सरकारले केन्द्र सरकार र एनडीआरएफको सहयोगमा भारतीय सेनाका हेलिकप्टर लाचेन र लाचुङ पठाएर त्यसपछि चुङ्थाङमा राहत टोली पठाउने प्रयास गरेको भएपनि प्रतिकूल मौसमका कारण आज पनि मगनबाट माथि हेलिकप्टर जान सकेन।
सडक सम्पर्कबाट पूर्ण रूपमा विच्छेद बनेको जङ्गु निर्वाचन क्षेत्रका लागि घिर्लिङको सहायताबाट केही राहत सामग्री टिस्टा नदी पार गराउन सकिएको तर यो यथेस्ट नभएको जानकारी पाइएको छ। पूर्ण रुपमा सम्पर्क बिहिन बनेको चुङथाङसम्म पुग्ने पैदल मार्ग सुनिश्चित गर्न जङ्गुका मानिसहरूले आज रमामस्थित टिस्टा नदीमा एउटा बाँसको पूल लगाउन सफल भएका छन् जसबाट तरेर जङ्गुको रमाम र सिप्ग्यार हुँदै चुङ्थाङ नजिक पेगोङसम्म पुग्ने पैदल यात्रा तय गर्न सकिने जानकारी पाइएको छ।
टिस्टा नदीले मचाएको ताण्डवबाट क्षति बनेको मगन जिल्लाको राहत कार्यका लागि सिक्किम उर्जा लिमिटेडले २५ कराेड रुपियाँको राहत प्याकेज दिने घोषणा गरेको छ जसलाई मगन डिस्ट्रिक लोकल एरिया डेभलोप्मेन्ट कमिटी मार्फत वितरण गरिनेछ। यसरी नै राहत एवं बचाउ कार्यका लागि सिक्किम उर्जा लिमिटेडले एउटा डबल इञ्जिन हेलिकप्टरको व्यवस्था पनि मिलाएको छ भने आज गान्तोक आइपुगेको यो हेलिकप्टर भोलिदेखि राहत कार्यमा लाग्ने बताइएको छ।
केन्द्र सरकारको पक्षबाट सिक्किममा हालै भएको व्यापक क्षतिका लागि राहतको प्याकेज अहिलेसम्म घोषणा नभएपनि राज्य आपदा प्रतिक्रिया निधिको केन्द्रिय हिस्साबाट सिक्किमलाई ४४ करोड ८० लाख रुपियाँको केन्द्रिय शेयर जारी गर्ने स्वीकृति प्राप्त भएको छ। टिस्टा त्रासादीको आज तेस्रो दिन बितिसक्दा त्रसादीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ भने १०३ जना अहिलेसम्म निखोज रहेका छन्।