रिनक: २०८औँ भानुजयन्ती समारोह पाकिम जिल्लाको तारेथाङ सरकारी माध्यमिक विद्यालयको प्रेक्षागृहमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रममाझ पालन गरियो। सिक्किम महिला पत्रकार सङ्घको तत्त्वावधानमा आयोजित समारोहमा मुख्य अतिथिको आसनमा रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णुकुमार खतिवड़ा उपस्थित थिए।
कार्यक्रममा विशिष्ट अतिथिमा शिक्षा विभागका अधिकारी, मामरिङसहित अरू विभिन्न स्कूलका प्रमुख, रिनाक सीएलसी अध्यक्ष डीबी छेत्री, अङ्ग्रेजी दैनिक सम्मिट टाइम्सका सम्पादक पुरण तामाङ, प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवास, पञ्चायत, शिक्षक-शिक्षिका, विद्यार्थीसहित आम साधारणको उपस्थिति रहेको थियो।
तारेथाङ स्कूलका शिक्षक रूद्र दुलालद्वारा सञ्चालित कार्यक्रमको शुरु आदिकवि भानुभक्त आचार्यको तस्वीरमा दीप प्रज्ज्वलनबाट भयो। सङ्घकी अध्यक्ष धनमाया न्यौपानेले स्वागत सम्बोधन राख्दै आफू सङ्घको अध्यक्षको पदभार सम्हालेपछि पहिलो कार्यक्रम गर्न सफल भएकोमा सबैप्रति कृतज्ञता प्रकट गरिन् साथै आगामी समयमा अझ राम्रा कार्यक्रमहरू गर्दै लाने बताइन। सिक्किममा यसरी प्रत्येक क्षेत्रमा उदाहरणीय काम भइरहेकोमा उनले मुख्यमन्त्री पीएस गोलेलाई सङ्घको तर्फबाट शुभकामना प्रकट गरिन्।
यस्तै प्रकारले सङ्घले दुई पत्रकार भानुराज थापा र केबी राई (बरदाङ), नृत्य प्रशिक्षिका सङ्गीता खवास खरेल (मामरिङ), नन्दु कोइराला (फिल्म निर्देशक), पेमा शेर्पा (ट्राफिक पुलिस सिङ्ताम), समाजसेवी इन्दु सुवेदी, पेम्पा छिरिङलाई दोसल्ला ओ़ड़ाएर र अभिनन्दन पत्रद्वारा मुख्य अतिथि विष्णुकुमार खतिवड़ाका बाहुलीबाट सम्मानित गरियो भने सङ्घद्वारा सबै अतिथि, निर्णायक मण्डली पवन खतिवड़ा, मणि तामाङ, इन्द्रकुमार न्यौपानेलाई स्मृतिचिन्ह प्रदान गरियो।
मुख्य अतिथिको आसनबाट बोल्दै विधायक खतिवड़ाले भानु जयन्तीको महत्त्वमाथि चिन्तन गर्न साथै जाति, संस्कृति, परम्परालाई संरक्षण गरेर भविष्यका पिँढ़ीलाई सचेत गराउनुपर्ने बताए। उनले आयोजक सङ्घलाई तारेथाङमा कार्यक्रम गरेर विद्यार्थीहरूलाई थप प्रेरणा दिएकोमा बधाई दिए। सिक्किम सरकारको सांस्कृतिक विभागले पनि कला-सङ्गीतको क्षेत्रमा नानीहरूलाई प्रोत्साहित गरेको बताउँदै विधायकले तारेथाङ विद्यालयको प्रेक्षागृहमा सिलिङ लगाउने काम गरिदिने वचन दिए।
कार्यक्रममा अन्तर्विद्यालय रामायण पाठ प्रतियोगिता, विद्यार्थी स्तरीय कविता प्रतियोगितासहित सांस्कृतिक प्रदर्शनीमा सँगिनी नृत्य लोअर तारेथाङ क्लब, लेप्चा नृत्य अम्बा स्कूल, च्याब्रुङ नृत्य, नेपाली नृत्य, मारुनि, एकल, बालन नृत्य प्रस्तुत गरियो। ‘सामाजिक सञ्जालले समाजको प्रगतिमा असल भूमिका निर्वाह गरेको छ/छैन’ शीर्षकमा तारेथाङ माध्यमिक विद्यालय र अम्बा माध्यमिक विद्यालयमाझ सम्पन्न तर्क प्रतियोगितामा अम्बा विजयी बन्यो। अम्बाकै छात्रा दीपिका दर्नाल कुशल वक्ताका रूपमा पुरस्कृत बनिन्।
सङ्घले विजेता, उपविजेता, सहभागी विद्यार्थीसहित अन्यलाई प्रमाणपत्र, स्मृतिचिन्ह, पुरस्कार, नगद पुरस्कार प्रदान गर्यो। कार्यक्रममा सङ्घकी सदस्य हेमा शर्माले कृतज्ञता प्रकट गरिन्।