खरसाङ: खरसाङ महुकमा अन्तगर्त रोहिणी चिसो पानी क्षेत्रमा जल जीवन मिशन अन्तगर्त पिउने पानी कार्यको उदघाटन कार्यक्रम सम्पन्न भएको छ। यसको साथै यस गाउँमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको शिलान्यास कार्यको उद्धाटन पंखाबारी लंगभ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधानको बाहुलीबाट विविध पूजा अर्चनासहित सम्पन्न भएको छ। खरसाङ महुकमा समिति गजेन प्रधानले सञ्चालन गरेको कार्यक्रममा राईले स्वागत भाषण राखेका थिए भने सुन्दर राईले स्वागत गीत गाएका थिए। कार्यक्रमको शुरूमा गत ४ अक्टोबरको दिनमा टिस्टा नदीमा आएको प्राकृतिक आपदामा ज्यान गुमाउनेहरूको चिर आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद एंव जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले रोहिणी अन्तगर्त चिसो पानी क्षेत्रमा जल जीवन मिशन अन्तगर्त पिउने पानीको कार्य असल ढंगमा भएको बताइन् साथै यसै क्षेत्रमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको कार्य पनि गुणस्तरीय हुने जनाइन्। चिसो पानी क्षेत्रमा निर्माण हुन गइरहेको सार्वजनिक भवनको निर्माणको निम्ति स्व साँइला गुरूकी पत्नीले जमीन दान दिएको नव निर्मित सार्वजनिक भवनको नामाकरण स्व साँइला गुरुङको नाममा गरिने पनि सभासद कल्पना प्रधानले जनाइन्।

उनले आफ्नो सम्बोधनमा जीटीए प्रमुख कार्यपालको कुशल नेतृत्वमा रोहिणी क्षेत्रमा जीटीएमार्फत् अझ धेरै विकासमूलक कार्यहरू गर्ने योजनाहरू रहेको पनि जनाइन्। कार्यकारी सभासद कल्पना प्रधानले रोहिणी रत्नड्याङमा क्यान्सर पीडितको घरमा गई आर्थिक सहयोग पनि गरिन्।

आज सम्पन्न शिलान्यास कार्यक्रममा खरसाङ खण्डक पञ्चायत समिति सभाधिपति अनु प्रधान, खरसाङ नारी शक्ति जैतुन निशा खातुन, समष्टि सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियार, पञ्चायत सदस्यगण, खरसाङ नगरपालिका भूतपूर्व चियरमेन समरदीप ब्लोन, पिएचई विभागको मुख्य अभियन्ता मणिकुमार मंग्रान्ती, सह-अभियन्ता एमबी थापा साथै खरसाङ सिँचाई विभागको मुख्य अभियन्ता रतन दर्नाल, सह- अभियन्ता अविनाश शर्मा, रोहिणी खण्ड समिति सचिव कल्याण राणा साथै रोहिणी क्षेत्रबाट भागोप्रमोका युवा शक्ति, नारी शक्ति साथै भातृत्व संगठनहरूको बाक्लो उपस्थिति रहेको थियो।