गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सरकारको विकास मोडल फेल भएको र पूर्व सरकारको विकास मोडलकै कारण आज सिक्किममा टिस्टा नदीले विनाश मचाएको गम्भीर आरोप लगाएका छन्।
मुख्यमन्त्रीले आज सिङताम र रम्फूमा बाढ़ प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरे। यस क्रममा पत्रकारहरूसित कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
मुख्यमन्त्री तामाङले टिस्टा नदीले मचाएको विनाशको निम्ति पूर्व सरकारलाई जिम्मेवार ठहऱ्याउॅंदै पूर्व सरकारमा गुणात्मक काम भएको भए यस्तो विनाश हुने थिएन भन्ने आसय व्यक्त गरे। उनले गत ३ अक्टोबर राति बादल फाटेर दक्षिण ल्होनाक झील विस्फोट भएपछि झीलको पानीले चुङथाङमा जलविद्युत परियोजना टिस्टा स्टेज-३ को ड्यामलाई पूर्णरूपमा ध्वस्त बनाएको जानकारी गराए।
उनले ड्याम निर्माणको कार्य गुणात्मक भएको भए यसरी ड्यामलाई ध्वस्त बन्ने थिएन भन्दै पूर्व सरकारमा सो कार्य राम्रो नभएकाले यस्तो भएको हो भनी बताए। उनले टिस्टा स्टेज-३ को ड्याम ध्वस्त भएपछि त्यहॉंबाट उच्च वेगका साथ उर्लिएर आएको पानीले डिक्चु, सिङताम र रम्फूमा विनाश मचाएको बताए। उनले चुङथाङको ड्याम बाहेक टिस्टा नदीमाथि निर्मित अन्य सबै ड्यामहरू सुरक्षित रहेको जानकारी गराए।
मुख्यमन्त्री तामाङले आफ्नो भ्रमण अवधि सिङताम, बरदाङ र रम्फूमा बाढ़ले पुऱ्याएको क्षतिको निरीक्षण गरे। उनले राहत शिविरहरूको भ्रमण गरेर प्रभावित मानिसहरूको स्थितिको बारेमा पनि जानकारी लिए। यस अवधि उनले बरदाङमा सेनाका जवानहरू बेपत्ता बनेको घटनास्थल पनि भ्रमण गरे।