गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज सिङ्ताममा रहेको सिरवानी माध्यमिक विद्यालय र सरकारी उच्च माध्यमिक विद्यालयको राहत शिविरको साथै अन्य प्रभावित क्षेत्रहरूको निरीक्षण गरे। राज्यपालले पीडितको अवस्थाबारे जानकारी लिँदै यस विपत्तिबाट पीडितलाई सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले भेटघाटको क्रममा भने, यदि बाँचे भने संसार पुनर्स्थापित हुनेछ। राज्यपालले राहत शिविरका जनतालाई हिम्मत कायम राख्ने आग्रह पनि गरे। भारत सरकार, सिक्किम सरकार बीडियो, जीपीयू पञ्चायत र सिक्किमका जनता प्रभावितहरुसंग रहेको उल्लेख गरे। क्रममा उनले त्यहाँ तयार भइरहेका खाद्यवस्तुको सरसफाई र त्यहाँ स्थापित स्वास्थ्य केन्द्रको समेत निरीक्षण गरेका थिए। मोबाइल क्लिनिकका स्वास्थ्यकर्मीसँग पनि अन्तरक्रिया गरेका थिए। राज्यपालले संकटको यस घडिमा सबैले एक अर्कालाई साथ र सहयोग गरिरहनुपर्ने पनि बताए। राज्यपालले पूर्व सिक्किम र दक्षिण सिक्किमलाई जोड्ने एलडी काजी पुलको पनि भ्रमण गरे। जहाँ उनले हिमनदी फुट्दा भएको क्षति र विपद्का बारेमा सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए। पीडितलाई तत्काल सहयोग गर्न निर्देश दिए। त्यसपछि राज्यपालले प्राकृतिक प्रकोपबाट प्रभावित अर्को क्षेत्रको पनि भ्रमण गरेका थिए। उनले पञ्चायतका प्रतिनिधि, स्थानीय जनता र राहत र उद्धार कार्यमा सक्रिय रहेका अधिकारीहरूलाई पनि भेटे। उनले जनतालाई भेटेर एकता कायम राख्न सल्लाह दिए। उनले पुनर्स्थापना र आवश्यक सहयोगका लागि केन्द्र सरकारको सहयोगका साथै पीडितलाई सक्दो सहयोग गर्न प्रदेश सरकारलाई पनि निर्देशन दिइएको बताए। यसै सन्दर्भमा सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले पनि राज्यपालबाट अवस्थाको जानकारी लिए र यस प्राकृतिक प्रकोपबाट प्रभावित सबै जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि भगवानसँग प्रार्थना गरे। राज्यपालले मुख्यमन्त्री राहत कोषमा तत्काल १० लाख रुपियाँ उपलब्ध गराउने घोषणा पनि गरेका छन्।