काठमाडौं: नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ।बिहीबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा निगम र नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो।साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्। साझेदारी पत्रमा हस्ताक्षरपश्चात कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको बताए।
उनले देशमा धेरै पढेर डा.लेख्नेहरुले डेबिट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधिनता, स्वाभिमान मूल्य डेविट र क्रेडिट मात्रै नहुने बताए।
उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्याउने समेत बताए। उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भन्ने गरेको गुनासो गरे। उनले सरकारमा बसेका जिम्मेवार व्यक्तिले निगमलाई के दिए भन्ने हेर्नुपर्ने बेला आएको बताए। निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार नहुने भन्दै उनले आफू निगममा अध्यक्ष भएर आएपछि भष्टाचार नगरेको दाबी गरे।
कार्यक्रममा उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए। उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुःखद् भएको बताए।