कालचिनी: मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणा औ बन विभागको निर्देशमा आज बक्सा ब्याघ्र प्रकल्पको आयोजनामा यस बर्षको बन महोत्सव आज राजाभातखावा स्थित एनआईसी परिसरमा सम्पन्न भयो। आज यस अवसरमा एनआईसी हलमा बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेन, अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा, अलिपुरद्वार पुलिस अधीक्षक वाई रघुवंशी, अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार, समाजसेवी प्रकास चीक बढ़ाईक, जल्दापाड़ाका बन अधिकारी लगायत विभिन्न रेञ्जका अधिकारीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा अलिपुरद्वार र राजाभातखावाका विभिन्न स्कूलका विद्यार्थीहरुले सहभागिता गरेको थियो भने विद्यार्थीहरूद्वारा अंकन गरिएको चित्रहरुको प्रदर्शनी साथै अब्बल चित्राङ्कन गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान उपस्थित अतिथिहरुको बाहुलीबाट गरिएको थियो।
उक्त अवसरमा गिद्ध प्रजनन केन्द्रबाट लगायत बक्सा जङ्गलमा पाईने विभिन्न चरा औ पुतलीहरुको प्रजातिको प्रदर्शनी पनि राखिएको थियो। कार्यक्रममा उपस्थित बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेनले मूलतः बन महोत्सवको तात्पर्य प्रकृति बचाउन हामीले रुखहरु लगाउन र वन्यजीवको संरक्षण गर्न जरुरी रहेको बताएको थियो भने इकोतन्त्रलाई सन्तुलन राख्न प्रकृतिसुलभ व्यावहार गर्न जरुरी रहेको बताउँदै बन विभागले वृक्षारोपणको उद्देश्य लिएर विभिन्न कामहरु गरेको र आजसम्म सबुज साथी अन्तर्गत ५० हजार भन्दा अधिक बिरुवा रोपण औ प्रदान गरिएको र प्रायः २१.६१ प्रतिशत बनभूमि औ वृक्षारोपणको हरियाली ल्याउन सफल भएको र बन्यप्राणी औ मान्छेबीचको अन्तर्द्वन्द मेटाउन काम भईरहेको जनाएका छन। आज यसै अवसरमा विद्यार्थीहरुलाई राजाभातखावा स्थित गिद्ध प्रजनन केन्द्रको पहलमा गिद्ध पक्षीको महत्व र यसको जीवनचक्र बारेमा प्रोजेक्टर मार्फत जानकारी गराईएको थियो।