कालचिनी: बुधबार डुवर्सको विभिन्न ठाउँहरुमा २०८औँ भानु जयन्ती समारोह सम्पन्न हुने क्रममा साँझ मेचपाड़ा ८ नम्बर गाउँको सबैभन्दा पुरानो संस्था भानु संघको आयोजनामा भव्यताको साथ आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट भानु संघका पुरानो सदस्य तथा अवकाशप्राप्त पुलिस प्रभारी गोपाल सुब्बाले दिएका छन। कार्यक्रमलाई सफल बनाउन औ भानु संघको पुरानो गरिमालाई फर्क्याई ल्याउन आ-आफ्नो सेवाबाट निवृत भएर पनि भाषा, साहित्य, संस्कृति र समाजलाई संरक्षित गर्न लागि परेका मेचपाड़ा ८ नम्बर निवासी समाजसेवीहरु गोपाल सुब्बा, दिलकुमार बसेल, राजेन्द्र थापा र ज्ञानलाल थोकरलाई आयोजक कमिटीको पक्षबाट विशेष सम्वर्द्धना प्रदान गरिएको थियो भने यस क्रममा गाउँका अब्बल पढ़ाई गर्ने र समाजसेवा गर्ने युव युवतीहरुलाई पनि सम्वर्द्धना प्रदान गरिएको थियो।
साँझबाट शुरु भएको सो कार्यक्रमको अध्यक्षता मेचपाड़ा ८ नम्बरको प्रथम पञ्चायत सदस्य तथा तथ्य संस्कृति विभागबाट अवकाशप्राप्त समाजसेवी दिलकुमार बसेलले गरेको थियो भने मुख्य अतिथिको रुपमा स्थानीय वयोवृद्ध समाजसेवी जङ्गबीर बम्जनको उपस्थिति रहेको थियो। अन्यान्य विशिष्ट अतिथिहरुमा भानु संघको पुरानो सदस्यहरू गोपाल सुब्बा, राजेन्द्र थापा, ज्ञानलाल थोकर, स्थानीय पञ्चायत सदस्य सरिफ लामा, युवा समाजसेवी राजमान लामा, गायक तथा संगीतकार भरत सुब्बा,ज्योति लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रथमत स्वागत गीत भरत सुब्बाले प्रस्तुत गरेका थिए भने रामायण पाठ स्थानीय पुरोहित द्वारा सम्पन्न गरिएको थियो। स्थानीय कुमार थापा नेपाली प्राथमिक पाठशालाका साना साना छात्रा छात्रीहरुले गीत तथा नृत्य प्रस्तुत गरेको थियो भने नृत्य औ कविता वाचन गर्ने प्रत्येकलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो। अजय कुमार आले र अमीर लामाको सञ्चालनमा सम्पन्न सो कार्यक्रम नितान्त सामाजिक व्यक्तित्व औ समाजसेवीहरुलाई लिएर गरिएको र मेचपाड़ा ८ नम्बर गाउँको लगभग ४० बर्ष भन्दा अधिक पुरानो संस्था भानु संघको गरिमालाई फर्क्याई ल्याउन प्रयास चलिरहेको र यसै मार्फत सामाजिक, साहित्यिक,भाषिक औ सांस्कृतिक सचेतना गर्ने लक्ष्य रहेको आयोजक कमिटीको पक्षबाट गोपाल सुब्बा, राजेन्द्र थापा, दिलकुमार बसेल र ज्ञानलाल थोकरले थप जनाएका छन।
यसै क्रममा कालचिनी खण्डको बक्साद्वार र सुन्तलाबारी गाउँमा पनि आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह पालन गरिएको जानकारी बक्साद्वार र सुन्तलाबारीका समाजसेवी विकास थापा र अरुण कुमार राईले दिएका छन्। यता भानु जयन्ती पालन गर्दै बुधबार मेचपाड़ा चियाबारीमा पनि आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गर्न सालिक स्थलको निर्माणको शिलान्यास गरिएको सालिक निर्माण कमिटीको पक्षबाट महिपाल सुब्बा र किरण गुरुङले जानकारी गराएको छ भने आगामी २० अगस्त नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिने जनाएका छन।