राजगञ्ज: गजलडोबा टिस्टा ब्यारेजबाट ३ वटा अज्ञात लाश उद्धार भएको छ। उत्तर सिक्किममा ड्याम भत्केपछि उक्त तीन वटा लाश नदीमा तैरिएर गजलडोबा टिस्टा ब्यारेजमा आएको हो वा होइन भन्ने विषयमा प्रशासनले जाँच शुरू गरेको छ। पहाडमा लगातार परिरहेको पानीले गर्दा टिस्टा नदीको जलस्तर निक्कै बढेको छ भने नदीको पानी खतराको निशानभन्दा माथि बगिरहेको छ। दुईजना पुरुष र एउटी महिलाको मृतदेह नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो भने हालसम्म तिनीहरूको परिचय जुटाउन सकेको छैन। गजलडोबा क्षेत्रमा केही व्यक्ति पानीमा डुबेर निखोज भए तापनि पछि तिनीहरूलाई सकुशल उद्धार गरिएको छ।

यस विषयमा राजगञ्जका बीडीओ पंकज कोनारले भने, टिस्टा ब्यारेजको अवस्था निकै चिन्ताजनक रहेको छ। नदीमा पानीको जल स्तर खतराको निशानभन्दा माथि रहेको छ। हाम्रो पक्षबाट सुरक्षाको सबै उपायहरू अप्नाइरहेका छौँ। दुईजना निखोज भएका थिए भने पछि तिनीहरूलाई सकुशल उद्धार गरिएको छ। टिस्टा नदीबाट अज्ञात लाश उद्धार गरेको छ भने हाल तिनीहरूको परिचय जुटाउने प्रयास गरिरहेको छ।