सिलगढी: टिस्टाको विकराल रुपले सिक्किम राज्य र यसको जीवन रेखा एनएच-१० मा प्राकृतिक प्रकोपका कारण जनजीवनलाई अस्तव्यस्त बनाएको छl टिस्टाको जलस्तर बढेर सो क्षेत्रका घरहरूलाई व्यापक असर पारेको छ भने एनचएच-१० पैह्रोका कारण बन्द भएको छl यस विषयलाई लिएर सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहसित सम्पर्क गरेका छन्l एक प्रेस विज्ञप्ति जारी गरेर उनले सिक्किम, दार्जीलिङ, कालेबुङ, जलपाइगढी क्षेत्रका लागि एउटा उच्च-स्तरीय आपदा निगरानी एवं प्रतिक्रिया टीम गठन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई अनुरोध गरेको बताएका छन्।

‘हाम्रो क्षेत्रमा अहिले उत्पन्न भयंकर प्राकृतिक आपदाको सामना गरिरहेका हाम्रो दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि सिक्किमका जनतासँग म ऐक्यबद्धता जनाउँदछु’, उनले विज्ञप्तिमा यसो भनेका छन्। दार्जीलिङ, कालेबुङ, सिक्किम क्षेत्रले उत्तर सिक्किममा हिम ल्होनाक ताल फुट्नाका कारण ठूलो क्षति बेहोर्नु परेको विज्ञप्तिमा बताएका छन्। यसले गर्दा टिस्टा नदी बग्ने सिक्किम, दार्जीलिङ, कालेबुङ क्षेत्रमा पूर्वाधार, सम्पत्ति अनि मानव जीवनलाई समेत ठूलो क्षति पुगेको उनले बताएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘म कालेबुङका जिल्लाध्यक्ष, एनएचपीसी अधिकारीहरू अनि एनडीआरएफ टीमसँग पनि निरन्तर सम्पर्कमा छु। कालेबुङ, दार्जीलिङ अनि सिक्किमका सिमाना क्षेत्रका लागि जीवन-रेखाको काम गर्ने एनच-१० कैयौँ ठाउँहरूमा भत्केर बगेका छन्। मलाई जानकारी गराइएअनुसार एनडीआरएफ टीम बीच बाटोमा नै रोक्किएको छ, किनभने सड़क पूर्णतया भत्केर बगेको छ। एनडीआरएफका तीन टीमहरू अहिले मौसम सफा हुने प्रतीक्षामा सिलगढ़ीमा रोकिएका छन्, ताकि हेलिकोप्टरको प्रयोगद्वारा उनीहरूलाई आवश्यक ठाउँहरूमा पुऱ्याउन सकियोस्। बचाउ अनि राहत प्रयासहरूमा समन्वय कायम गर्न हामी मिलेर काम गर्नेछौँ, अनि एकजुट भएर हामी यस आपदाबाट पार पाउने छौँ। म व्यक्तिगत रूपले सबै ठाउँहरूमा गएर आवश्यक मद्दत पुर्याउनेछुl’