काठमाडौं: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलमा परिणत भएको बताएका छन्।सरकारको कमजोरीका कारण कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने उनको दाबी छ ।राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धबारे ठोस अवधारण बनाउन जरुरी रहेको बताए। ‘अहिले नेपालको परराष्ट्र नीति छैन भने पनि हुन्छ’, उनले अघि भने, ‘सरकारले देश–देशहरुसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रित छ।’
अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध सत्ता केन्द्रित भएको उनको आरोप छ। सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको भन्दै उनले भने, ‘विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन। सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ। त्यो अनुसारको क्रियाकलाप भइरहेको छ।’ कुनै शक्ति राष्ट्रसँग नजिक वा टाढाभन्दा पनि समनिकटताको सम्बन्ध बनाउनुपर्ने उनको जोड छ। राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘नेपालले सम्बन्ध राखेका देशसँग सम्बन्ध राख्दा अन्य कुनै पनि देशलाई समस्या पर्दैन भन्ने ग्यारेन्टी प्रदान गर्छौं भन्ने कुरा सरकारले अन्य देशलाई बुझाउन सक्नुपर्छ।’