गान्तोक: सिक्किम राज्यमा पहिलोपल्ट अन्तरराष्ट्रिय स्तरको कराँटे प्रतियोगिता आयोजन हुने भएको छ। सिक्किम स्टेट कराँटे डो एसोसिएशनले दिएको जानकारी अनुसार, प्रतियोगितामा भारत बाहेक नेपाल, भुटान र बङ्लादेशका खेलाडीले सहभागिता जनाउनेछन्।
एसोसिएशनका अध्यक्ष विजय गुरुङ र महासचिव विधान वल्लभ सुब्बाले आज पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार, आगामी ३ देखि ५ नोभेम्बरसम्म गान्तोकमा सिक्किम ओपन इन्टरनेशनल कराँटे च्याम्पियनशीप हुने निधो भएको छ, जसमा भारतका विभिन्न राज्य र तीनवटा छिमेकी देशबाट ८०० अधिक खेलडीको सहभागिता रहनेछ।
प्रतियोगिता महिला तथा पुरुष दुवैका लागि जुनियर, सब जुनियर र सिनियर वर्गमा हुनेछ। यसमा सिक्किमबाट हालै आयोजित स्टेट च्याम्पियनशीपमा सेमिफाइनलसम्म खेलेका खेलाडीले भाग लिने कराँटे डो एसोसिएशनले जनकारी दिएको छ। पहिलोपल्ट राज्यमा आयोजन हुने अन्तरराष्ट्रिय स्तरको यस प्रतियोगिताबाट सिक्किमका खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर प्राप्त गर्ने विश्वास रहेको अध्यक्ष विजय गुरुङले बताए।
प्रतियोगिता आयोजनमा समर्थन र सहयोग पुऱ्याएको भन्दै उनले मुख्यमन्त्री पीएस तामाङले, खेल विभागका मन्त्री कुङ्गा निमा लेप्चा, सिक्किम ओलम्पिक एसोसिएशन लगायत अन्य खेल सङ्गठनप्रति आभार व्यक्त गरेका छन्।