दार्जिलिङ: पहाडको बन्द रहेका चियाबगानहरूमाथि नवान्नमा आगामी ५ अक्टोबर उच्च स्तरीय बैठक बस्ने भएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले प्रेस जारी गर्दै बताए अनुसार दसैंको छेउ चिया श्रमिकहरूले वर्षेनी पाउने बोनसको समय पहाडमा नाटक हुन्छ कि त चिया बगान बन्द हुन्छ। उनले विज्ञप्तिमा भनेका छन् -‘विगत वर्षहरुमा पनि बन्सल कम्पनीले आफू अधीनस्थ चियाबगानलाई बन्द गरेर श्रमिकहरुलाई बिचल्लीमा छोडेर गएको थियो। श्रमिकको पक्षमा हल्ला गर्नेहरू त थुप्रै थिए तर मेरो पहलमा बन्द चिया कमान खोल्ने अनि श्रमिकहरूले पाउनु पर्ने हक दिलाउने कार्य गरेको थिए। बन्सल कम्पनीले आफु अधीनस्थ चियाबगानलाई ध्वस्त नै पारिदिएका थिए। ती ध्वस्त चियाबगानलाई लेमन ग्रास कम्पनीले आफ्नो अधिनमा लियो। श्रमिकको रहल पाउनु पर्ने रकम अनि वोनस पनि भुक्तान गर्यो।’
उनले अघि भने, चियाबगानहरू व्यवस्थित रूपमा चल्दै नै थियो। अचानक मुण्डा , चुङथुङ, नागरि चियाबगान बन्द भयो। बन्द हुनुको मुख्य कारण दार्जीलिङ्ग अर्ग्यानिक टी (बन्सल कम्पनीले) यूको ब्याङ्कबाट लोन लिएको थियो। लोन लिने समय कम्पनीले चिया बगानलाई धितो राखेको थियो। लोन फर्काउने समय २० सेप्टेम्बर २०२३ रहेको थियो अनि त्योभन्दा अघि ब्याङ्कले लोन फर्काउने नयाँ सम्झौता स्वीकार गरेन। लेमन ग्रास अधीनस्थ चियाबगानहरू, जुन दार्जीलिङ्ग अर्ग्यानिक टी (बन्सल) ले ब्याङ्क सँग धितो राखेको थियो। कम्पनीलाई चियाबगान खाली गर्ने कानुनी निर्देश ब्याङ्कले पठायो। कमान खाली गर्नु अघि श्रमिकको सबै रकम भुक्तानी गर्ने निर्देश रहेको थियो। यसै निर्देशकको आधारमा लेमन ग्रास कम्पनीले चिया बगान छोडेर गयो। मेरो जानकारी अनुसार छोड्नु अघिसम्मको भुक्तानी कम्पनीले गरिसकेको छ।’
जीटीए चिफ् अनित थापाले अझ भने, आजको दिन तीनवटा चियाबगान बन्द छन् अनि आगामी दिनमा अन्य बगानहरू पनि बन्द हुने सम्भावना छ।श्रमिकको हितमा सडकमा ओर्लिएर कराउनु राम्रो हो। सम्बन्धित ठाउँमा आवाज पुग्छ पनि। तर के सडकमा कराउँदैमा काम भै हाल्छ? चियाकमान बन्द भयो। श्रमिकहरूले पाउनु पर्ने अधिकार पाएको छैन। श्रमिकको दैनिक रोटी पाक्नु बन्द भयो। के सडकमा नारा लगाउँदा, विरोध गर्दा समस्याको समाधान हुन्छ? अनित थापा समस्यादेखि भाग्दैन। समस्यादेखि डराउँदैन। समस्याको समाधान खोज्ने, श्रमिकको हितमा बोल्ने मात्र होइन काम गर्ने नेता हो। म सडकदेखि लालकोठी अनि नवान्नसम्म आवाज पुर्याउने मात्र होइन हातसम्म चलाउने नेता हुँ।’
उनले अझ भनेका छन् -‘आज त्यही श्रमिकको समस्याहरू लिएर मैले राज्यका मुख्य सचिव एचके दुवेदी, आईएएससंग बैठक बसे। बैठकमा लेमन ग्रास कम्पनी अधीनस्थ चियाबगानको बन्द हुने प्रक्रिया अनि यसको मूल कारणहरू उनलाई बताए। उहाँले मेरो समस्यालाई बुझ्नुभयो। समस्या सुल्झाउन पहल सुरु गर्नु भयो। करीब एक घण्टासम्म चलेको बैठक सफल भएको छ।बैठक सक्दा नसक्दा पश्चिम बंगाल सरकार, श्रम विभागका अतिरिक्त सचिव वरुण कुमार रेले श्रम विभागका मन्त्री अनि मुख्य सचिवको तर्फबाट एउटा पत्र पठाउनु भयो। पत्र अनुसार आगामी ५ अक्टोबरको दिन नवान्नमा दार्जीलिङ पहाडका चिया बगानमा अहिले सुरु भएको समस्यामाथि विमर्श गर्न अनि समाधान निकाल्न बैठक डाकिएको छ। बैठकमा श्रम विभागका मन्त्री, राज्यका मुख्य सचिव, बगानका मालिक, यूको ब्याङ्कका अधिकारी अनि जी टी ए प्रमुख कार्यपालको उपस्थिति रहनेछ। समस्या हुन्छ तर समस्यालाई बढाउनु होइन समाधान गर्नु नै नेतृत्वको धर्म हो। म त्यही धर्म निर्वाह गर्दैछु।’
थापाले अझ भने, ‘मेरा कमानको सबै श्रमिक अनि अन्य कर्मचारीहरू, म तपाईहरूको हक र अधिकारको निम्ति आवाज बनेर कोलकातामा छु।तपाईहरुको निम्ति नै काम गर्दैछु। कुनै नकरात्मक कदम नउठाउनुहोस। कसैको बहकाउमा नआइदिने निवेदन गर्छु।’