खरसाङ: हरेक महिनाको अन्तिम शनिवार सम्पन्न हुने शब्द समय सालबारीको १२२औं प्रकरण स्थानीय सयपत्री संघ भवनमा शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालको निधनपछि सम्पन्न भएको यो पहिलो प्रकरण भएकोले यसलाई नरबहादुर दाहाललाई समर्पण गर्दै आयोजना गरिएको छ। प्रथममा वरिष्ठ साहित्यकार एवं राजनैतिक चिन्तक डीएस बम्जनको बाहुलीबाट दिवङ्गत साहित्यकार नरबहादुर दाहालको तस्वीरमा खदा चढाएर श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि शब्द समयका बलियो खाँबो वरिष्ठ कवि-कथाकार-चिन्तक ज्ञानेन्द्र खतिवडाले यस प्रकरणलाई नरबहादुर दाहालमाथि आधार गरिनुको आशय र तात्पर्यमाथि जानकारी दिए। उनले साहित्यकार दाहालको शब्द समयप्रतिको समर्पण, माया र मार्गदर्शनलाई स्मरण गर्दै उनका साहित्यिक अवदनहरूमाथि प्रकाश पारे अनि यो प्रकरण उनीमै समर्पण गर्दै प्रस्तुत गरिने वार्ता र रचनाहरू उनीमाथि नै केन्द्रित रहने कुरो बताए। यस अवसरमा वरिष्ठ कवि-समालोचक प्रा डा सञ्जय बान्तवाले साहित्यकार दाहाललाई आधार गरेर उद्बोधनी सम्बोधन राखेका थिए। उनले साहित्यकार दाहालको साहित्यिक योगदानहरूको चर्चा गरे। उनले भने, रोमान्सेली कविता लेखनमा कवि दाहाल एक सशक्त स्तम्भ हुन्। डा. बान्तवाले कवि गिरी अनि कवि दाहालका काव्य लेखन प्रवृतिका विभिन्न बुँदाहरू केलाउँदै तुलनात्मक दृष्टिकोण प्रस्तुत गरिरहेका थिए। यस अवसरमा शब्द समयमा प्रथमपल्ट उपस्थित बन्न आइपुगेका प्रतिष्ठित कवि पदम छेत्रीलाई प्रा. डा. बान्तवाद्वारा खदा पहिर्याएर स्वागत जनाइयो। आफ्नो सम्बोधनमा वरिष्ठ-कथाकार कवि भविलाल लामिछानेले भने, साहित्यकार नरबहादुर दाहाल साहित्य सर्जक अनि साहित्य साधक हुन्। उनले कवि दाहालले पूर्वाञ्चल भेकमा दिएका योगदानहरूको चर्चा गर्दै कवि हरिभक्त कटुवाल अनि कवि दाहाललाई तुलनात्मक दृष्टिकोणले हेरिरहेका थिए। उनले सुझाव राखे अबउसो हरेक वर्ष सितम्बर महीनाको शब्द समयको प्रकरण अभिभावक नरबहादुर दाहालमा समर्पण गरेर दाहाल जयन्ती पालन गर्न सकिए उत्तम हुनेछ। वरिष्ठ कवि मोहन ठकुरीले सलुवाबाट श्री विकाश कार्कीद्वारा सम्पादित परदेशी पत्रिकाको नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कमा प्रकाशित दुई रचनाहरूका आधारमा साहित्यकार दाहालको व्यक्तित्वमाथि प्रकाश पारिरहेका थिए। खरसाङबाट आएका वरिष्ठ समाजसेवी अनि गोर्खा जन पुस्तकालयका भूतपूर्व अध्यक्ष तिलक शर्माले साहित्यकार नरबहादुर दाहालसित आफ्नो सम्बन्ध र आत्मीयताबारे बताउँदै दाहाल महोदयलाई गोजपुले प्रदान गरेको चन्द्रिका पुरस्कार अलङ्करणका सम्झनाहरू साझा गरिरहेका थिए। वरिष्ठ कवि पदम छेत्री अनि वरिष्ठ साहित्यकर आइ.एन. शर्माले साहित्यकार दाहलसितको सान्निध्यताका सम्झनाहरू प्रस्तुत गरे। कथाकार जीतहादुर सुनारले साहित्यकार दाहालको कृति वरपीपलमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। कथाकार-चित्रकार सुभाष छेत्रीले सन् १९५५मा कथा भारती साहिँलो भागमा प्रकाशित साहित्यकार दाहालको ‘मान्छे’ शीर्षकको कथा वाचन गरेर सुनाए। यस अवसरमा साहित्यकार नरबहादुर दाहालमाथि नै आधार गरी लेखिएका रचनाहरू सर्जकहरूबाट वाचन गरिए जसमा थिए कवि निर्मल सिन्चुरी, कवि लीलबहादुर सुनार, कथाकार मणीकुमार प्रधान, कवि अ.प्रा. कप्तान महेश कुमार सुब्बा, साहित्यकार कृष्ण प्रधान अर्पण, कवि हेमन्त काफ्ले, अनि सर्जक पूर्ण मंगर। कार्यक्रमको अन्त्यमा साहित्यकार दाहाल अनि लोक साहित्यमा विपूल योगदान रहेका साहित्यकार सुख नमको निधनमा शोक प्रकट गर्दै उनीहरूको आत्मशान्तिको प्रार्थना गर्दै दुई मिनटको मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरियो। सम्पूर्ण कार्यक्रमलाई संयोजक युग्मककार कालूसिंह रनपहेंलीले सञ्चालन गरेका थिए। सञ्चालनको क्रममा उनले कवि दाहालका विभिन्न सार र भावका कविताहरू उद्धृत गरिरहेका थिए भने प्रसिद्ध साहित्यकार बालकृष्ण समले दाहाल महोदयलाई आफ्नो हस्ताक्षरमा लेखेर दिएका कविता किन शीर्षकको कविता पनि पठन गरिरहेका थिए। उनले साहित्यकार सुख नमको छोटो परिचय पनि प्रस्तुत गरे। उनीद्वारा नै धन्यवाद ज्ञापन गरिएपछि यो प्रकरण समाप्त भयो। यस प्रकरणमा नेपाली चलचित्र जगतका प्रसिद्ध अभिनेता टङ्क शर्मा, वरिष्ठ साहित्यकार डी.एस. बम्जन, शब्द समयकी वरिष्ठ सदस्या नीरू शर्मासितै सुकुनाका डम्बर सिंह अनि सविता सिंह आदिको विशेष उपस्थिति रहेको थियो।