खरसाङ: दार्जिलिङका नारी स्रष्टा मणिका मुखियाको निधनमा गोर्जा जनपुस्तकालय खरसाङमा शोक सभा सम्पन्न भएको छ।पुस्तकालयको अध्ययन कक्षमा सम्पन्न उक्त शोक सभाको अध्यक्षता पुस्तकालयको उप सभापति ऋषि राईले गरेका थिए भने मुख्य अतिथिको रूपमा राजु प्रधान हिमांशु उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाईलीले सञ्चालन गरेको सभाको शुरुमा नारी स्रष्टा मणिका मुखियाको तस्वीरमा धुप द्वीप प्रज्वलनसहित खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। उक्त शोक सभामा वक्ताहरू क्रमैले तिलक शर्मा, जीबी बल, बिनोदप्रकाश शर्मा, आशा मुखिया लामा आदिले वक्तव्य राखेका थिए। शोक सभाको गोर्खा जनपुस्तकालयको अाजीवन सदस्या मणिका मुखियाको निधनमा आयोजित उक्त शोक सभाको शुरुमा नारी स्रष्टा मणिका मुखियाको निधनमा शोक श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ। वक्ताहरू सबैले मणिका मुखियाको विषयमा विभिन्न जानकारीहरू गराउँदै उनको जीवनी, कार्यहरू र साहित्यिक र शिक्षण पेशाको योगदानहरू विषयमा चर्चा परिचर्चा गर्दै सबैले श्रध्दाञ्जली अर्पण गरेका छन्। शोक सभामा मुख्य अतिथि राजु प्रधान हिमांशु र सभाध्यक्ष ऋषि राईले पनि आफ्नो वक्तव्यमा नारी स्रष्टा मणिका मुखियाको विभिन्न पक्षहरूका उल्लेख गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्।

मणिका मुखिया सन्त टेरेजा दार्जिलिङकी पूर्व शिक्षिका हुन्। उनले २००३ मा शिक्षा क्षेत्रमा राष्ट्रीय पुरस्कार प्राप्त गरेका थिए भने २०१८ मा अनुवाद साहित्यमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी थिइन्। मणिका मुखियाद्वारा लिखित कृतिहरूमा नारी मर्यादा (अनुवाद), शिवकुमार राई (अंग्रेजीमा मनोग्राम), क्षितिज हराएपछि (कविता कृति), श्रध्दाञ्जली -ट्रिब्युट टु विश्वकवि रवीन्द्रनाथ (अंग्रेजीमा लिखित) आदि छन्।