खरसाङ: खरसाङका एक स्रष्टा एंव गजलकार ललित चाहारको पहिलो कृतिको रूपमा गजल संग्रह ‘प्रेमाञ्जली’ आज लोकार्पण भएको छ। खरसाङको गोर्खा जनपुस्ताकालयको अध्ययन कक्षमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उप सभापति ऋषि राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ उपस्थित रहेका थिए। त्यसरी विशिष्ट अतिथिको रूपमा समाजसेवी तिलक शर्मा, जीबा बल, बिनोदप्रकाश शर्मा, एलडी मोक्तान, सुनौलो परिवार डाउहिलको सभापति दावा लामा, स्रष्टा ललित चाहारको सुपुत्र दिपंकर चाहार आदि उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाईलीले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रममा ललित चाहारको पहिलो कृति गजल संग्रह ‘प्रेमाञ्जली’को लोकार्पण सभाध्यक, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र उनको सुपुत्र दिपंकर चाहार लगायत उपस्थित अन्यको बाहुलीबाट लोकार्पण गरिएको छ। हालमा स्रष्टा ललित चाहार बिमारी भएर उपचाराधीन अवस्थामा रहेका छन्। तर पनि उनको सपनालाई साकार गर्दै यो उनको गजल संग्रह लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण भएको घोषणा प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुले गरेका थिए। खरसाङको डाउहिल निवासी स्रष्टा ललित चाहारको जन्म २० अक्टोबर सन् १९६२ मा भएको थियो। उनी ग्रामीण ब्यांकको कर्मचारीको रूपमा कार्य गरेर अवकाशप्राप्त भएका थिए। उक्त लोकार्पण कार्यक्रममा स्रष्टा ललित चाहारको सुपुत्र दिपंकर चाहारले सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुले चाहारको गजल लेखन विषयमा चर्चा गर्दै गजल लेखनमा आफ्नो छुट्टै प्रकारको लेखन र यसमा आफ्नोपन रहेको बताएका छन्। उल्लेख्य छ ललित चाहारको गजल कृति ‘प्रेमाञ्जली’ मा भूमिका वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुले लेखेका छन्।