१४ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा भूमिपुत्र एफसी मतिगढ़ाले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय मण्टिभियट खेल मैदानमा बिहीवार खेलिएको पूल ए-को म्याचमा भूमिपुत्र एफसी मतिगढ़ाले अम्बटियालाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट खोकन रोयले २ गोल गरे। यसबाहेक वतन राई, जीत तामाङ र बिराजले १-१ गोल गरे। खोकन रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने पूल बी-को म्याचमा सिपाहीधुरा एफसी र मुनाल एफसी सोनादाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।