जलपाईगढ़ी। करलाभ्याली, डेङ्गुवाझार, जयपुर, शिकारपुर आदि चियाकमानहरुमा चिया श्रमिकहरुले गेटसभा मार्फत विरोध प्रदर्शन गरे।
जलपाईगढ़ी सदर ब्लकको करलाभ्याली चियाकमानका श्रमिकहरुले वृहत संख्यामा भेला भएर २०% बोनस सहित १० बुँदे माग राख्दै गेटसभाको आयोजना गरे। चियाकमान मजदुर युनियन करलाभ्याली एकाइले आह्वान गरेको विरोध सभामा महिला श्रमिकहरुको उपस्थिति उल्लेख्य थियो। कमान प्रबन्धनपक्षले गेटसभा नगर्ने धम्की दिएता पनि श्रमिक यूनियनले गेटसभाको आयोजना गरिछाड़े। त्यसैगरी, गुडरिच कम्पनी अधीनस्थ रहेको जलपाईगुडी सहर नजिकैको डेङ्गुवाझार चियाकमानका श्रमिकहरू र जयपुर चियाबारीका श्रमिकहरुले राजनीतिक मतभेद बिर्सेर सत्तारुढ़ दल र प्रतिपक्षका श्रमिक संगठनका सदस्यहरू एकजुट भएर गेटसभामा सामेल भएको थियो। भण्डिगुड़ी चियाकमानका श्रमिकहरू पनि बिहानैदेखि विरोध सभामा ठूलो संख्यामा भेला भएका थिए। वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरुलाई २० प्रतिशत बोनस दिनु पर्ने, जग्गाको हक नदिई सरकारले चियाकमानको जग्गा लुट्ने निर्णय गरेको भन्दै २० प्रतिशत बोनसको मागमा आन्दोलन गरेको यूनियन नेताहरुले जनाएका छन्। दार्जीलिङका कमानहरू लुट्ने षड़यन्त्रमा फसेपछि भू-माफिया विवादको घेरोमा आएको अनि राज्य र केन्द्र सरकारले चिया श्रमिकलाई ठगेर वञ्चित गरिरहेको आरोप पनि लगाएको थियो। वक्ताहरुको सम्बोधनमा भूमि अधिकार, न्यूनतम पारिश्रमिक श्रमिकहरुको अधिकारको माग पनि उठाएको थियो।

वक्ताहरुले गत वर्ष द्विपक्षीय बैठकमा २० प्रतिशत बोनस निर्धारण गरेको भएपनि यसपटक मालिक पक्षले विना कारण ८ दशमलव ३३ प्रतिशत बोनस दिन भन्दै चिया श्रमिकहरुले गुनासो गरेका छन्। चिया उद्योगको प्रगति भए पनि मालिकवर्गको यस्तो प्रस्तावले उद्योगभरका चिया श्रमिकहरु आक्रोशित भएका छन्। गेटसभामा चिया श्रमिकहरुले सरकार र मालिकको दमन तोड़्न आगामी दिनमा ठूलो आन्दोलन गर्ने घोषणा गरेको छ। यसदिन विभिन्न चियाकमानका भेलामा चिया श्रमिक नेता प्रफुल्ल लाकड़ा, अमल नाइक, गोविन उराँव, ध्रुवज्योति गांगुलीलगायत अन्यान्य नेताहरुले आ–आफ्ना धारणा राखेका थिए।