सोरेङ: गत २६ सेप्टेम्बरदेखि शुरु भएको अन्तर सरकारी महाविद्यालय तर्क प्रतियोगिताको दुईवटा सेमिफाइनल आज सोरेङ विद्यालयको स्वर्ण जयन्ती रंगशालामा सम्पन्न भयो। ८३औं भण्डारी जयन्ती समारोह समितिको उप-समिति साहित्य समितिले आयोजना गरेको तर्क प्रतियोगिताको पहिलो सेमिफाइनलमा नरबहादुर भण्डारी डिग्री कलेज तादोङले निकट भविष्यमा कृत्तिम बौद्धिकताले प्राकृतिक बौद्धिकतालाई विजय प्राप्त गर्ने छ भन्ने विषयको पक्षमा तर्क पेश गरेका थिए भने उक्त विषयको विपक्षमा सरकारी बीएड कलेज सोरेङले जोडदार तर्क राखेका थिए। यस प्रतियोगितामा बीएड कलेज सोरेङले डिग्री कलेज तादोङलाई पराजित गरी फाइनलमा प्रवेश गऱ्यो। उक्त तर्क प्रतियोगिताको उत्कृष्ट वक्ता बीएड कलेजकी चन्द्रमाया सन्यासी बनिन्।
यसरी नै तर्क प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सिक्किम सरकारी कलेज नाम्ची र सरकारी संस्कृत महाविद्यालय साम्दोङबिच सम्पन्न भयो। वर्तमान युगमा संस्कृतिको जागरण हुँदैछ भन्ने विषयको पक्षमा नाम्ची कलेजले र उक्त विषयको विपक्षमा संस्कृत महाविद्यालय साम्दोङले पर्क पेश गरेको थियो। यसमा सरकारी संस्कृत महाविद्यालय साम्दोङ विजय बन्यो भने तर्क प्रतियोगितामा उत्कृष्ट वक्ताकोरूपमा संस्कृत महाविद्यालयका रामन पोख्रेललाई चयनित गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा रहेका थिए भने विशिष्ट अतिथिमा विधायक अदित्य गोले रहेका थिए। यस तर्क प्रतियोगिताको फाइनल आउँदो ५ अक्टोबर दिनको भण्डारी जयन्तीको अवसरमा सम्पन्न हुनेछ। उक्त दिन राज्यका मुख्यमन्त्री पीएस गोले स्वयं उपस्थित रहने भएको छ। राज्य स्तरीय अन्तर महाविद्यालय वादविवाद प्रतियोगिताका विजेता महाविद्यालयलाई ३ लाख रुपियाँ र उपविजेता महाविद्यालयलाई २ लाख रुपियाँ भण्डारी जयन्ती समारोह समितिले प्रदान गर्ने जानकारी गराएको छ। विजेता र उपविजेता महाविद्यालय बाहेक तर्क प्रतियोगितामा सहभागी अन्य आठवटा महाविद्यालयलाई पनि एक लाख रुपियाँ सान्त्वना पुरस्कार प्रदान गरिने भएको छ।