सोरेङ: पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारी जयन्तीलाई लक्षित गर्दै आयोजित पुरुष भलिबल टुर्नामेन्ट अन्तर्गत आज दुईवटा क्वाटर फाइनल खेल सम्पन्न भयो। आजको पहिलो क्वाटर फाइनल खेलमा दरमदिन भलिबल क्लबले ब्रदरवुड गान्तोक भलिबल क्लब गान्तोकलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ। दरमदिनले गान्तोकलाई ३-१ सेटको अन्तरले परास्त गरि सेमिफाइनलमा प्रवेश गरेको हो। अब दरमदिन भलिबल क्लबले नाम्ची भलिबल क्लब विरुद्ध सेमिफाइनलमा खेल्नेछ। दोस्रो क्वाटर फाइनल खेलमा सोरेङ-च्याखुङ भलिबल क्लबले मांगसिला भलिबल क्लबलाई लगातार सेटमा ३-० ले परास्त गरि सेमिफाइनल आफ्नो स्थान पक्का गऱ्यो। दुवै सेमिफाइनल खेल ३ अक्टोबरको दिन हुनेछ।
८३औं भण्डारी जयन्तीलाई केन्द्र गर्दै सोरेङ स्कुलको खेलमैदानमा आयोजना भइरहेको मुख्य कार्यक्रमको दोस्रो दिनमा वरिष्ठ साहित्यकार एसआर खजुम मुख्य अतिथि रहेका थिए। कार्यक्रममा भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीका धर्मपत्नी देवीमाया भण्डारी र स्व. भण्डारीका छोरा खुसेन्द्र भण्डारीको पनि विषेश उपस्थिति थियो। कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार एवं भण्डारी जयन्ती समारोह समितिका अध्यक्ष सीपी शर्मा, क्षेत्र विधायक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।