सिटिजन एक्सन पार्टीले ”राजनैतिक हिंसा” रोक्न माग गर्दै एसकेएमलाई चडायो ज्ञापन

IMG-20231002-WA0313.jpg

गान्तोक: एसकेएम सरकार गठन भएदेखि राज्यमा राजनैतिक हिंसा बढ़ेर गएको आरोपसहित राजनैतिक हिंसालाई रोक्न सत्तारुढ पार्टीले नै पहल गर्नुपर्ने मागको एउटा ज्ञापन सिटिजन एक्सन पार्टी सिक्किमले आज एसकेएम पार्टीलाई चडाएको छ।

ज्ञापन पत्र च़डाउन सिटिजन एक्सन पार्टी सेतो फूलको गुच्छा लिएर एसकेएम पार्टी मुख्यालय गान्तोक पुगेको थियो, जसलाई एसकेएम पार्टीको मुख्यालयका महासचिव सहित अन्य कार्यकर्ताले खादा लगाउनसितै लड्डु खुवाएर स्वागत जनाए।

राजनैतिक हिंसा रोक्न सत्तारूढ पार्टीबाट नै पहल हुनुपर्ने भन्दै एसकेएमलाई यसबारे ज्ञापन चडाउने भनेर सिटिजन एक्सन पार्टीले हिजो प्रेस सम्मेलन मार्फत सार्वजनिक गरेको थियो भने यसबारे एसकेएम मुख्यालयका महासचिव पवन गुरुङसँग फोनबाट पनि जानकारी गराएको सिट्टिजन एक्सन पार्टीले बताएको छ। यता ज्ञापन बुझाउन सिटिजन एक्सन पार्टी एसकेएम मुख्यालय जाने विषयलाई लिएर गान्तोक सदर पुलिसले एसकेएम मुख्यालय परिसरमा सुरक्षा व्यवस्थाका लागि धेरै पुलिस खटाएको देखियो, तर दुवै दलमाझको वार्तालप र क्रियाकलाप शान्तिपूर्ण रह्यो।

आज गान्धी जयन्तिको अवसर पारेर शान्तिको सन्देशका साथ एसकेएमलाई ज्ञापन दिने साइत जुराएको सिटिजन एक्सन पार्टीले जनाएको छ। सिटिजन एक्सन पार्टीको पक्षबाट प्रवक्ता अल्बर्ट गुरुङ, महेश राई र टिकाराम शर्मासहित अन्य कार्यकर्ता एसकेएम मुख्यालय पुगेका थिए।

उनीहरूले शुरुआतमा एसकेएम मुख्यालयको प्राङ्गणसम्म मात्र गएर ज्ञापन बुझाउने बताएका थिए तर एसकेएम पार्टीको पक्षबाट पनि स्वागतको तयारी गरिएकाले सिटिजन एक्सन पार्टीका कार्यकर्ता एसकेएमको हलसम्म नै गए, जहाँ उनीहरूलाई खादा लगाएर स्वागत जनाइएको थियो। यस अवसरमा सिटिजन एक्सन पार्टीले २९ सेप्टेम्बरमा सोरेङमा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको घटनाको उल्लेख गर्दै यो घटना एसकेएमका झण्डा लगाएका गाडीमा आएका मानिसहरूबाटै भएको र राजनैतिक हिंसाले कसैलाई फाइदा नहुने भएकाले शान्तिपूर्ण राजनैतिक माहोल सिर्जना गर्न सत्तारूढ पार्टीले पहल गर्नुपर्ने मागसहितको ज्ञापन चडायो जसलाई एसकेम मुख्यालयका महासचिव पवन गुरुङले ग्रहण गरे।

ज्ञापन बुझाउनअघि यसलाई सिटिजन एक्सन पार्टीका प्रवक्ता महेश राईले पढ़ेर उपस्थित सबैलाई सुनाएका थिए। ज्ञापन बुझाएपछि पत्रकारहरूसंग कुराकानी गर्दै सिटिजन एक्सन पार्टीका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङले विश्वभर शान्ति सन्देश दिने र सधैं अहिंसाको वकालत गर्ने महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा सिक्किममा शान्तिमय राजनीतिक माहोलको आह्वान गर्न एसकेएम पार्टीलाई ज्ञापन चडाएको बताए।

प्रवक्ता अल्बर्ट गुरुङले भने, २०१९ मा एसकेएमले सत्ता लिएयता सिक्किममा राजनैतिक हिंसा र हिंसात्मक गतिविधि बढेको सिक्किमका जनतालाई थाहा छ। यस्ता हिंसामा संलग्न समाज विरोधी तत्वहरु विरुद्ध कानून अनुसार कुनै कारबाही भएको छैन। राज्यमा शान्ति र सद्भाव कायम गर्ने जिम्मेवारी सत्तारुढ दलको हो। हिजो पत्रकार सम्मेलनमा हामीले एसकेएम पार्टीको मुख्यालय भ्रमण गर्ने हाम्रो उद्देश्य बारेमा घोषणा गरेका थियौं। हामी एसकेएम पार्टीसँग शान्तिको प्रस्ताव लिएर आएका हौं। पार्टीको सिद्धान्त अनुसार राजनीति गर्नुपर्छ तर सिक्किममा त्यो भइरहेको छैन। राज्यमा शान्ति र सद्भाव कायम गर्ने जिम्मेवारी सत्तारुढ दलको हुन्छ भन्ने हामीलाई लाग्छ। चुनाव नजिकिँदै छ सिक्किम यस्तो हिंसामा लिप्त हुनुहुँदैन, सिक्किममा जे भइरहेको छ, त्यो अत्यन्त दुःखदायी छ। विपक्षी दलले सभा वा प्रचार प्रसार गर्ने ठाउँ पाएका छैनन्।

गुरुङले अझ भने, सत्तारुढ दलको हैसियतमा विपक्षी दल र उनीहरूका नेता र कार्यकर्तालाई सुरक्षा दिनु एसकेएमको दायित्व हो। प्रतिपक्षबिना लोकतन्त्र फस्टाउँदैन। यसैकारण हामीले एसकेएमलाई शान्ति कायम गर्न भनि ज्ञापन दिएका हौं। हाम्रो कदमलाई एसकेएम पार्टी मुख्यालयका महासचिव पवन गुरुङले स्वीकार गरे।

सिटिजन एक्सन पार्टीको ज्ञापन ग्रहण गरेका एसकेएम मुख्यालयका महासचिव पवन गुरुङले सिटिजन एक्सन पार्टीले दिएको प्रस्तावलाई आफूले ग्रहण गरेको बताए। उनीहरूलाई एसकेएम मुख्यालयमा भेट्ने प्रस्ताव, तयारी र स्वागत आफूले गरेको जानकारी दिंदै एसकेएम पनि शान्तिप्रिय पार्टी रहेको बताए। उनले एसकेएम पार्टी विपक्षमा हुँदा यस्ता धेरै राजनीतिक हिंसाको शिकार भएको बताए।

पवन गुरुङले भने, हामी यस्तो हिंसा चाहँदैनौं। यस प्रकारको राजनीतिक हिंसाको प्रवृति २५ वर्ष सत्तारुढ सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीबाट शुरु भएको थियो, जसमा अहिले सिटिजन एक्सन पार्टीका नेता गणेश राई त्यसबेलाको घटनामा सहभागी थिए। उनीहरूले त्यसबेला हामीमाथि भएको आक्रमणलाई सम्झनुपर्छ। गुरुङले एसकेएम पार्टीबाट आफूलाई यस विषयमा धेरै बोल्ने अनुमति नभएको स्वीकार गर्दै पार्टीका प्रवक्ताहरूले यस विषयमा सम्बोधन गर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement