उत्तर दिनाजपुर : इस्लामपुर डिभिजनको पूर्णिया मोरदेखि सोनापुरसम्मको राष्ट्रिय राजमार्ग नम्बर ३१ को करिब ८० किलोमिटरको अवस्था नाजुक छ। हालको मनसुनमा पिच सिट फुटेर साना–ठूला खाल्डाखुल्डी बनेका छन्। जसका कारण सवारी साधन चलाउन समस्या भइरहेको छ। सानातिना दुर्घटना पनि बारम्बार भइरहेका छन्। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन्। राष्ट्रिय राजमार्ग प्राधिकरणसँग चालकदेखि सर्वसाधारणसम्म आक्रोशित छन् । जीर्ण सडक तत्काल मर्मत गर्नुपर्ने उनीहरूको माग छ। इस्लामपुरका डिभिजनल शासक मोहम्मद अब्दुल साहिदले उक्त सडकप्रति चिन्ता व्यक्त गरेका छन्। उनले राष्ट्रिय राजमार्ग प्राधिकरणसँग कुरा गरेर तत्काल कारबाही गर्ने आश्वासन दिए।