गान्तोक: १५४औं गान्धी जयन्तीको उपलक्ष्यमा सिक्किमले राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री पीएस तामाङको विशेष उपस्थितीमा गान्तोकको एमजी मार्गमा आयोजित कार्यक्रम अवधि राष्ट्रपतिको सम्झना गर्दै श्रद्धासुमन अर्पण गरियो।
यस अवसरमा सिक्किम सरकारको पक्षबाट स्वच्छता र सर-सफाइको क्षेत्रमा काम गर्ने तीनवटा शहरी निकाय र चारवटा ग्राम पञ्चायतलाई पुरस्कृत गरियो भने सफाई मित्रहरूलाई पनि सम्मान गरियो।
सिक्किम सरकारको शहरी विकास विभागले स्वच्छ शहरी निकाय पुरस्कार प्रदान गऱ्यो, जसमा मंगन नगर पञ्चायतले दश लाख रुपियाँको पहिलो पुरस्कार जितेको छ। यसैगरी, रम्फू नगर पञ्चायत दोस्रो बनेर सात लाख रुपियाँको पुरस्कार र सिङताम नगर पञ्चायतले स्वच्छतामा तेस्रो स्थान हासिल गरेर पाँच लाख रुपियाँको पुरस्कार प्राप्त गरेको छ।
ग्रामीण भेगमा स्वच्छता व्यवस्थापनमा काम चारवटा ग्राम पञ्चायत पुरस्कृत बनेका छन्। ग्राम विकास विभागले यस श्रेणीमा पाकिम जिल्लाको लिङताम फदमचेन ग्राम पञ्चायतलाई पहिलो पुरस्कार प्रदान गऱ्यो। यो पुरस्कार स्वरुप ग्राम पञ्चायतले पाँच लाख रुपियाँको नगद पुरस्कार प्राप्त गरेको छ। यही वर्गबाट दोस्रो पुरस्कार गान्तोक जिल्लाको रोंगे ताथांचेन ग्राम पञ्चायतले प्राप्त गरेको छ भने तेस्रो पुरस्कार नाम्ची जिल्लाबाट संघनाथ ग्राम पञ्चायत र सोरेङ जिल्लाको गेलिङ बैगुने ग्राम पञ्चायतले प्राप्त गरेको छ। दोस्रो र तेस्रो स्थान प्राप्त गरेका ग्राम पञ्चायतले क्रमशः तीन लाख र एक लाख रुपियाँको पुरस्कार प्राप्त गरेका छन्।
यसरी नै प्रत्येक शहरी निकायबाट एक-एक जना सफाई मित्र विभागले सम्मान जनाएको छ। यसमा गान्तोक नगर निगमबाट बासु दर्जी, नाम्ची नगर परिषदका फुर्बा तामाङ, नयाँ बजार जोरथाङ नगर पञ्चायतका घनस्याम रावत, रम्फू नगर पञ्चायतकी पार्बती सार्की, सिङताम नगर पञ्चायतबाट दल बहादुर छेत्री, मंगन नगर पञ्चायतबाट सुरज दर्जी र गेजिङ नगर पञ्चायतबाट हर्क बहादुर संन्यासीलाई सफाई मित्र सम्मान जनाइएको छ।
यसै अवसरमा राज्यपाल र मुख्यमन्त्रीले ठोष तथा प्लास्टिक उपसिष्ट प्रवन्धन विषयमा लेखिएका दुईवटा पुस्तक पनि लोकार्पण गरे।