आइतवार माल्दिभ्सलाई १३८ रनले हराएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले “धेरैले गरेको पदकको आशा” आफूहरूले बुझेको प्रतिक्रिया दिए। एशियाली खेलकुदको क्रिकेटतर्फ पहिलो खेलमा मङ्गोलियाविरुद्ध कैयौँ विश्व कीर्तिमानहरू सहित जित हात पारेपछि नेपाली क्रिकेट टोलीको हान्झाउमा जसरी चर्चा पाइरहेको छ, त्यसरी नै खेलाडीहरू पनि मानसिक रूपमा सफलतालाई दोहोर्याउँदै लैजाने धुनमा देखिएका छन्।आइतवार लिगको अन्तिम खेलमा समेत नेपालले माल्दिभ्सलाई उही शैलीमा एकपक्षीय जित हात पार्यो।
यससँगै १४ टोली सहभागी एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल अन्तिम आठमा पुगेको छ।माल्दिभ्सविरुद्धको खेलमा नेपालले २०० रन पार गर्न समेत कठिन हुने छनक देखिएको थियो।तर कप्तान रोहित पौडेल र कुशल मल्लका आक्रामक ब्याटिङका सहायताले नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन जोड्न सफल भएको थियो।जसक्रममा कप्तान पौडेलले अर्ध शतक (५२ रन) बनाउन सफल भए भने मल्लले अविजित ४७ रन जोडेका थिए। आइतवारको खेलमा अविनाशको कीर्तिमान
जवाफी बलिङका क्रममा अविनाश बोहोराले करिअरको उत्कृष्ट इनिङ्स खेल्दै ६ विकेट लिए।जससँगै माल्दिभ्स २ बल खेल्न बाँकी छँदा नै ७४ रनमा अलआउट हुन पुगेको थियो।बोहोराले ३.४ ओभर बलिङ गर्दै ११ रन जोड्न दिए र ६ विकेट लिए। यो कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो।सो क्रममा उनी दुई पटक ह्याट्रिक नजिक पुगेका थिए। छैटौँ ओभरमा बलिङ गर्न आएका ‘डेथ ओभर’ विशेषज्ञ बलरको रूपमा चिनिने अविनाशले आफ्नो पहिलो ओभरमा नै ३ विकेट लिएका थिए। त्यसबेला उनी ह्याट्रिक नजिक थिए।अर्को तीन विकेट उनले अन्तिम ओभरमा लिएका हुन्। त्यति बेला पहिलो दुई बलमा विपक्षी खेलाडीलाई बोल्ड गरेपछि तेस्रो बलमा विकेट पाउन चुकेका थिए।तर चौथो बलमा विपक्षीलाई एलबीडब्लुको सिकार बनाएपछि माल्दिभ्सको इनिङ्स सकिएको थियो।
निर्णायक नकआउट चरण
नेपालले क्वार्टर फाइनलमा हुने भेटको टुङ्गो सोमवार टाइ सिट ‘ड्र’ बाट थाहा हुनेछ।तर कुनै पनि प्रतिद्धन्दीको सामना गर्न आफूहरू तयार भएको कप्तान रोहित बताउँछन्।जी ज्याङ युनिभर्सिटीमा बनाइएको नयाँ पिच अनुमान गर्न नसक्ने खालको भएको हुनाले कुनै पनि टोलीलाई खेल्न सजिलो नहुने उनको भनाई छ।क्वार्टर फाइनलमा नेपालले क्रिकेटका शक्तिशाली राष्ट्रहरूमध्ये एकसँग खेल्नेछ जसक्रममा भारत, पाकिस्तान, श्रीलङ्का वा बाङ्लादेशमध्ये एकको सामना गर्नुपर्ने हुनसक्छ।