कोलकाता: पश्चिम बंगालको सत्तारुढ तृणमूल कांग्रेसका कार्यकर्ताहरू, अधिकारीहरू र मनरेगा कार्ड धारकहरू केन्द्र सरकारको विरोध गर्न शनिबार यहाँबाट प्रस्थान गरेका छन्। यो जानकारी पार्टीका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले दिएका हुन्। यसअघि सबैजना रेलबाट दिल्ली जानुपर्ने थियो तर जुन रेलबाट मजदुर दिल्ली जान लागेका थिए त्यो रद्द गरिएको छ। यसपछि तृणमूल कांग्रेसले करिब ५० बसमा कार्यकर्तालाई दिल्ली पठाउने निर्णय गरेको छ। सांसद अभिषेक ब्यानर्जीले भने, ‘बंगालका जनताले आफ्नो अधिकार पाउनेछन्, म वाचा गर्छुl’ यस कार्यक्रमको नाम ‘फाइट फर राइट’ राखिएको छ। जानकारी अनुसार करिब २५ सय कार्यकर्ता बसबाट दिल्ली गइरहेका छन्। अभिषेक ब्यानर्जीले भने, ‘२ तारिखमा हामी राजघाटमा श्रद्धाञ्जली अर्पण गर्नेछौं। त्यसपछि त्यहाँ केही घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेछौं। जसमा प्रदेश सरकारका मन्त्री तथा सांसदहरुको सहभागिता रहनेछ। दिउँसो शान्तिपूर्ण दीप प्रज्वलन गर्ने पनि योजना छ। त्यसपछि ३ तारिख जन्तरमन्तरमा प्रदर्शनको कार्यक्रम छl’ बंगालका सबै पंचायतमा प्रत्यक्ष प्रसारण गरिने उनले बताए।