गान्तोकबाट अपहृत नाबालिगलाई बिहारबाट सकुशल फर्काइल्याउन सिक्किम पुलिस सफल

n543112446169617845257359763ed8868c2010e28ea2d3c2d0db0b5cf3568a5aa0588d15a74f828a40864b.jpg

गान्तोक: सिक्किम पुलिस र बिहार पुलिसले कुशल समन्वयको उदाहरण प्रस्तुत गर्दै सिक्किमबाट अपहृत नाबालिगलाई सकुशल उद्धार गरेको छ भने अपहरणमा संलग्न तीनजना आरोपितलाई पक्राउ पनि गरेको छ।

राजधानी छेउ लोवर स्यारी निवासी १५ वर्षीय नाबालिग गत २० अगस्तका दिन सदाझै बिहान वेस्ट पोइन्ट स्कूल गएका थिए। तर, त्यस दिन उनी फर्केर आएनन्। घर-परिवारले निकै खोज-तलाश गरेपछि पनि उसको पत्तो लगाउन सकेनन्। यसपछि, परिवारले २१ अगस्तका दिन सदर थानामा नाबालिग हराएको शिकायत दर्ता गरे।

सिक्किम पुलिसले तत्काल आफ्नो कारबाही शुरू गऱ्यो। जॉंचको क्रममा पुलिसले गान्तोकबाट दुईजना नाबालिग २० अगस्तका दिन सिलगढी गएको थाहा पाए। सिलगढीमा उनीहरूले अनिश राई नामक एक व्यक्तिसॅंग भेट गरे। दुई नाबालिग मध्ये एकजना गान्तोक फर्केर आए, तर अर्का नाबालिग बेपत्ता थिए।

सिक्किम पुलिसले अनिश राईबारे जानकारी पाएपछि सिलगढीमा सोधपुछ शुरू गरे। यस क्रममा उक्त व्यक्ति चोरीको मामिलामा पक्रा परेर पुलिस हिरासतमा रहेको थापा पाए। यस बिच २६ सेप्टेम्बर राति अज्ञात व्यक्तिले बिहारबाट फोन गरेर नाबालिग उनीहरूको अधीनमा रहेको र सकुशल फिर्ता चाहन्छन् भने एक लाख रूपियॉं फिरौती माग गरे।

सिक्किम पुलिसले तीव्र गतिमा पहल गर्दै आरोपित व्यक्तिहरूको ठेगाना पत्तो लगाए। यसपछि, बिहार पुलिससॅंग सम्पर्क गरेर तत्काल आरोपितहरूलाई पक्राउ गऱ्यो। अपहरणकर्ताहरूलाई पक्राउ गर्न बिहार पुलिसको महत्वपूर्ण भूमिका रहेको गान्तोक जिल्लाका पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले आज पत्रकार सम्मेलनमा बताए।

पुलिस अधीक्षक लेप्चा अनुसार, यस अपहरणको मामिलामा तीनजनालाई बिहारबाट पक्राउ गरिएको छ र उनीहरूलाई शनिवार गान्तोक ल्याइएको छ। आरोपितहरू मध्ये एकजना नाबालिग छन्। अन्य आरोपितहरूमा नाबालिग आरोपितका पिता चन्द्र शेखर र दिलखुश कुमार सामेल छन्। अन्य आरोपितहरूमा अनिश राई सिलगढीमा पुलिस हिरासतमा छन् भने संजय राईको चॉंडै पक्राउ गरिने अधीक्षक लेप्चाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement