गान्तोक: ‘स्वच्छता ही सेवा’ अभियान अन्तर्गत आज जेएन रोडमा पर्ने तीन माइल, चेकपोस्टमा राज्यस्तरीय स्वच्छता दिवस पालन गरियो। यस अवसरमा आयोजित राष्ट्रिय श्रमदान ‘एक तारिक एक घण्टा’ मा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने।

उक्त कार्यक्रम राज्य ग्रामीण प्रबन्धन एवं विकास विभाग र हेमन्त यादव फाउण्डेशनद्वारा संयुक्त रूपमा आयोजन गरिएको थियो। यस अवसरमा मन्त्रीगण, विधायकगण, विभागीय प्रमुखहरू, विद्यार्थीहरू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए। राज्यपाल आचार्यले उपस्थित सबैलाई स्वच्छता शपत दिलाए। यसपछि सम्पन्न भएको सफाई अभियानमा राज्यपाल र मुख्यमन्त्री पनि सहभागी बनेका थिए। राज्यपालले स्वयंसेवकहरूको बसलाई झण्डा हल्लाएर छाङ्गु प्रस्थान गराए। स्वयंसेवकहरूले त्यहॉं सफाई अभियान चलाउने छन्।










