गेजिङ: गेजिङ जिल्लाको आत्मा (एटीएमए) ले हि-गाउँमा फार्म स्कूलको स्थापना गरेको छ। वर्षभर निरन्तर तरकारी उत्पादन गर्न आत्माले यसको स्थापना गरेको हो। कार्यक्रममा स्वागत भाषण गर्दै खण्ड प्राविधिक प्रबन्धक (बीटीएम) विवेक शर्माले आत्मा र फार्म स्कूलको उद्देश्य र महत्तवमाथि प्रकाश पारे। यसैगरी श्रोतवक्ता हेमन्त घिमिरेले विभागीय योजना र यिनीहरूको रूपरेखाबारे बताउँदै फार्म स्कूलमा खेती गर्दा हुने फायदाहरूका बारेमा पनि अवगत गराए। उनले टमाटर, कोल बाली र खोर्सानी जस्ता उच्च मूल्यका उत्पादनहरूको व्यावसायिक खेती गर्न किसानहरूलाई उत्प्रेरित गरे।
आईसीएस-का कार्यकारी सदस्य जीवन शर्माले उपस्थित समूहलाई सम्बोधन गर्दै भर्मीकम्पोष्ट र जैविक खेती अनि यसबाट किसानहरूलाई हुने लाभका बारेमा बताए। वक्ताहरूको सम्बोधनपछि बीटीएम विवेक शर्माद्वारा वक्-इन्-टनलको प्रदर्शनी गरियो। कार्यक्रममा कुमार विष्टलाई फार्म स्कूल शिक्षकका रूपमा छनौट गरिएको छ। यस अवसरमा पञ्चायत उपाध्यक्ष, सम्बन्धित विभागका अधिकारी लगायत स्थानीय प्रगतिशील कृषकहरूको पनि सहभागीता रहेको थियो।