जन्म प्रमाण पत्र ऐनलाई लिएर विपक्षीहरूले भ्रम फैलाउॅंदैछ: मुख्यमन्त्री
गान्तोक: सिक्किम नेवार गुठीको पहलमा आज राजधानीस्थित मनन केन्द्रमा राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन गरियो।
पहिलो चरणको कार्यक्रम जिरो पोइन्टस्थित भानु उद्दानमा सम्पन्न भएको थियो, जसमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, शिक्षा विभाग मन्त्री केएन लेप्चा, पर्यटन मन्त्री बीएस पन्त, यातायात विभाग मन्त्री एमएन शेर्पा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
मुख्यमन्त्री लगायत सबै अतिथिहरूले सर्वप्रथम भानु उद्यानमा पूजा पाठ गरेपछि सोही स्थानबाट शोभा यात्रा शुरू भएको थियो, जसमा मुख्यमन्त्री लगायत सबैले सहभागिता जनाएका थिए। भानु उद्दानबाट शुरू भएको शोभा यात्रा तिब्बत रोड हुँदै एमजी मार्गमा पुगेर समापन भएको थियो। यस अवसरमा एमजी मार्गमा राखिएको स्टलको पनि मुख्यमन्त्रीले निरीक्षण गरे।
यसरी नै दोस्रो चरणको कार्यक्रम अपरान्ह् एक बजीदेखि मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य अतिथ्यमा सम्पन्न भयो। सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस वर्ष इन्द्रजात्रा पर्व भव्यरूपमा आयोजना गरिएकोमा आयोजत समिति सिक्किम नेवार गुठीलाई हार्दिक बधाई साथै धन्यवाद दिए। यसरी आफ्नो जातिय पर्व गान्तोकमा मनाउनु सबै भन्दा ठूलो कुरा रहेको अवगत गराए।
यो पर्व केवल नेवार जातिको मात्र नभएर सिक्किमको पर्वकोरूपमा चिन्हित गरेकोमा उनले खुशी प्रकट गरे। आफ्नो जातिय परम्परा, भेषवुषा, संस्कृतिलाई शिक्षाकोरूपमा अरूलाई प्रदान गर्न सकेमा अवश्य पनि जातिको परम्पराबारे अरूले पनि जान्ने अवसर पाउन सक्ने बताए। एसकेएम पार्टी सरकारमा आएपछि सबै जाति, भाषालाई बाँच्न पाउने सुन्दर वातावरण उपलब्ध गराएको मुख्यमन्त्रीले जानकारी गराए।
यसरी राजधानीमा खुल्लारूपमा आफ्नो पर्व मनाउनु पाउनु सबै भन्दा ठूलो कुरा रहेको र सरकारको यही नै उपलब्धि रहेको अवगत गराए। यस प्रकारको जातिय पर्वमा पार्टीको झण्डा लगाएर आउनु पर्ने वाध्यता वर्तमान सरकारमा छैन्, सबैले आफ्नो जातिय पर्व स्वतन्त्रतारूपमा पालन गर्न पाउने सरकारले वातावरण सृजना गरेको उनको भनाइ रहेको छ। सिक्किमे नेवारहरू सुन्तला जस्तो नभएर खरबुजा जस्तो हुनुपर्ने अपील गरे। प्रत्येक जातिहरू एक हुनुपर्ने उनले सुझाउ दिए।
पूर्व सरकारको कार्यकालमा जातिय पर्वमा पनि पार्टीको झण्डा लगाएर आउनु पर्ने स्थिति सृजना गरेको थियो,तर वर्तमान सरकारले त्यो प्रथा हटाएर जातिय पर्वमा आउँदा पार्टीको झण्डाविहिन आउनु पर्ने स्थिति वातावरण दिएको बताए। हाल कतिपय मानिसहरूले परिवर्तन खोइ भन्दै प्रश्न गरिरहेका छन्, तर परिवर्तन भन्ने कुरा आँखाले देखेर मात्र नहुने तर यसलाई महसुस गरिनु पर्ने जानकारी गराए।
यस अवसरमा नेवार समुदायको निम्ति चार हजार स्क्वायर फिटको जमीन पाल्जर स्टेडियम रोडमा नेवार गुठीको भवन निर्माणको निम्ति जमीन प्रदान गरे। वर्तमान सरकारले सबै जातिलाई समान अधिकार प्रदान गर्दै आइरहेको अवगत गराए। नेवार समुदाय इतिहास बनाउनको निम्ति अघि बढनु पर्ने र सरकार सदैव साथमा रहने विश्वास दिलाए।
पूर्व सरकारले पच्चीसवर्षको अवधिमा १३ जना नेवारी भाषाको शिक्षक नियुक्त गरेको थियो भने वर्तमान सरकारले चार वर्षको अवधिमा १५ जना नियुक्त गरेको मुख्यमन्त्रीले किटान गरे। नेवार समुदायको निम्ति नामथाङमा संस्कृतिक धरोहर अनि अध्ययन केन्द्रको राज्य सरकारले निर्माण गरिने मुख्यमन्त्रीले सो कार्यक्रममा घोषणा गरे।
एसकेएम सरकार सबै जातिय संगठनहरू प्रति गम्भीर रहेको कारण सबै संस्थाहरू मजबुत हुनु पर्छ भन्ने धारणा रहेको उनले अवगत गराए। मुख्यमन्त्री छात्रावृत्ति योजना अन्तर्गत एकसय भन्दा अधिक विद्यार्थीहरू अध्ययनरत रहेको उनले जानकारी गराए। आगामी २०१४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउमा सम्पूर्ण नेवार समुदाय एक भएर प्रतिनिधि छनौट गरेर पठाएमा जिताउने जिम्मा एसकेएम पार्टीको रहेको बताए।

आगामी दिनमा यस पर्वलाई अन्तरराष्ट्रियस्तरमा मनाउनु पर्ने मुख्यमन्त्रीले सुझाउ दिए। जन्म प्रमाणलाई लिएर हाल विपक्षी पार्टीले विभिन्न प्रकारको वयान दिइरहेको जानकारी गराउँदै यदि एसकेएम सरकारको कारणले राज्यलाई क्षति हुन्छ भने सत्ता छोड्न तयार रहेको बताए। विपक्षी पार्टीले जन्म प्रमाण पत्र छ भने सिक्किम राज्यमा पनि नौकरी पाउँछ, जमिन किन्न पनि पाउँछ भन्ने आम मानिसहरूमा भ्रम उत्पन्न गरिरहेकोमा उनले कडा शब्दमा खण्डन गरे।