नाम्ची: नाम्ची जिल्लाअन्तर्गत अप्पर शुक्रबारेमा आज स्वर्गीय विनिता प्रधान स्मृति फुटसल प्रतियोगिताको प्रथम सेमिफाइनल खेल सम्पन्न भयो। यस प्रतियोगिताको आयोजना गान्धी जयन्तीको अवसरमा अप्पर शुक्रबारे प्राथामिक पाठशालाको सहयोगमा स्थानीय अमरदीप संघले गरेको हो।
आजको कार्यक्रममा मल्ली समष्टिका विधायक फर्वन्ती तामाङको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको फुटसल प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा एक-एकको बराबरीमा खेल समाप्त भएपछि टाइब्रेकरमा राई बोइजलाई एकसोडस तुरूकले पराजित गऱ्यो।
कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि सम्पन्न भएको थियो। तुरूक रमाबुङ जीपीयूका पञ्चायत सभापति सरस्वती मंगर, मणिराम उच्चतर माध्यमिक स्कूलका प्राचार्य एलबी प्रधान, एसकेएम पार्टीको मल्ली समष्टिस्तरीय समितिका सल्लाहकार पीबी गुरूङ आदिको पनि उपस्थिति रहेको थियो।