गान्तोक: सिक्किम सशस्त्र प्रहरी (एसएपी) को तीन दिवसीय ४८औं स्थापना दिवस समारोहअन्तर्गत आज दोस्रो दिनको कार्यक्रममा राज्यका कृषि मन्त्री लोकनाथ नेपाल मुख्य अतिथि रहेका थिए। गान्तोक जिल्लाको पाङ्गथाङस्थित एसएपी क्याम्पमा आयोजित कार्यक्रममा एसएपी जवानहरू र सिक्किम पुलिस ब्याण्डले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
पूर्व एसएपी जवान तथा मन्त्री लोकनाथ नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै २१ वर्ष एसएपी जवानको रुपमा राज्य र देशको सेवा गरेको कुराहरूको सम्झना गरे। यसको साथै उनले हाल राज्य सरकारले विभिन्न क्षेत्रमा गरेका उल्लेखनीय कार्य र उपलब्धीहरूमाथि पनि प्रकाश पारे। यी कार्यहरू दूरदर्शी मुख्यमन्त्री प्रेम सिंह तामाङको कुशल नेतृत्वको कारण सम्भव भएको उनले बताए। मन्त्री नेपालले हालै पदोन्नती भएका एसएपी जवानहरूलाई बधाई दिँदै यसको निम्ति पनि मुख्यमन्त्रीलाई धन्यवाद दिए।
आफ्नो सम्बोधनको क्रममा कृषि मन्त्रीले एसएपी जवानहरूलाई क्याम्पमा उपलब्ध खाली जमीनमा कृषि अनि मत्सयपालन गर्ने सुझाउ दिएका छन्। यसको निम्ति आफ्नो विभागले आवश्यक सहयोग प्रदान गर्ने पनि उनले थप बताए। यस अवसरमा मन्त्री नेपालले स्थापना दिवसको अवसर पारेर प्रदर्शनीमा राखिएका अस्त्र शस्त्र अनि विभिन्न उपकरणको अवलोकन पनि गरे।
यस अवसरमा राज्यका केही चर्चित गायकहरू प्रितम राई, मिलन शर्मा र रिवास गुरुङले पनि प्रस्तुती दिएका थिए। समारोहको भोलि अन्तिम दिनको कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहने छन्।