गान्तोक: विशाल नीलो सागरको गहिराईमा लुकेका रहस्यहरूको खोजमा आज सिक्किमका पत्रकार टोलीद्वारा गोवास्थित प्रतिष्ठित राष्ट्रिय समुद्रविज्ञान संस्थानको (एनआइओ) भ्रमण गरियो। वर्ष १९६६ मा स्थापित एनआइओले महासागरीय अनुसन्धान एवं उन्नत प्रविधिको क्षेत्रमा काम गर्दै हामीबीच रहेका सागरबारे समझदारी बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
एनआइओका निर्देशक प्रो. सुनिलकुमार सिंहले संस्थानको कार्यविधिका साथै सागरीय रहस्यहरू उद्धाटन गर्न यसले खेल्ने महत् भूमिकाबारे विस्तृत जानकारीका साथमा पावरपोइन्ट प्रस्तुति पेश गरे। ज्ञान साझा गर्नका साथै यसलाई आम जनमानससम्म सुगम बनाउँदै आफ्नो जीवनमा सागरको महत्त्वबारे सराहना गर्ने बनाउन संस्थानको प्रतिबद्धतामाथि पनि उनले बल दिए।
भ्रमणमा प्रकाश पारिएका प्रमुख बुँदामा एनआइएद्वारा महासागरको विशाल परिप्रेक्ष्यमा गर्ने अनुसन्धान कार्य रहेको थियो। सागरीय परितन्त्र अनि जैवविविधताको अध्ययनदेखि लिएर भौगोलिक प्रक्रिया अनि जलवायु परिवर्तन जस्ता सबै आयाम संस्थानले समुद्र विज्ञान अन्तर्गत समेट्ने गरेको छ। समुद्रमा डुबेका द्वारका नगरी, राम सेतुका साथमा हिन्द महासागर, अरब सागर अनि बङ्गालको खाडी लगायत एनआइओका वैज्ञानिकहरूद्वारा ग्रहण गरिएका विभिन्न अनुसन्धान परियोजनाबारे पत्रकारहरूलाई अवगत गराइयो।
महासागरबाट वास्तविक समयभित्र तथ्याङ्क सङ्कलन गर्न स्थायी रूपमा उपकरणहरूको स्थापनाको सदुपयोग गर्ने एनआइओको प्रयासको प्रदर्शनी भ्रमणको मुख्य विशेषता रहेको थियो। यी उपकरणहरू विशाल महासागरमा सामरिक हिसाबले स्थापित गरिएका छन्, जसले सागरीय तरङ्ग, तापमानमा अन्तर लगायत अन्य महत्त्वपूर्ण मानकबारे बहुमूल्य जानकारी उपलब्ध गराउँदछ। यस्ता तथ्याङ्कले महासागरको गतिशील प्रकृति तथा जलवायुको स्वरूप, मत्स्य क्षेत्र अनि तटवर्ती इलाकामा बसोबासो गर्ने समुदायहरू लगायत हाम्रो जीवनको विभिन्न पक्षलाई पार्ने प्रभावबारे बुझ्न धेरै सहयोग गर्दछ।
एनआइओका शोधार्थीहरूले उपयोग गर्ने अत्याधुनिक प्रविधि देखेर पत्रकार टोली आश्चर्यचकित बनेको थियो, जसले सागरको गहिराईको खोज गर्नका साथै नियन्त्रित परिवेशमा प्रयोग गर्न सहयोग गर्दछ। संस्थानको समुद्री अनुसन्धानमा सीमा नाघ्ने प्रतिबद्धता प्रदर्शित गर्दै उन्नत अन्तरजलीय वाहन तथा सुदूर रूपमा परिचालित वाहन (आरओभी) पनि प्रदर्शित गरियो।
सागरीय अनुसन्धानमा वैश्विक सहकार्य प्रोत्साहित गर्ने एनआइओको अन्तरराष्ट्रिय सङ्गठनहरूसँगको सहकार्यबारे पनि पत्रकारहरूलाई अवगत गराइयो। यस प्रकारको साझेदारीले वैज्ञानिकहरूलाई मिलेर सागरका गुढ विषयहरू गहनताका साथ बुझ्नका लागि ज्ञान, संसाधन अनि कार्य मिलेर साझा गर्न सघाउ पुऱ्याउँदछ।

प्रो. सुनिलकुमार सिंहले हिमाली भेक लगायत सिक्किममा भूइँचालोको बढ्दो आवृत्ति अनि प्रगाढताबारे पनि पत्रकारहरूसँग चर्चा गरे।