खरसाङ: स्वच्छता नै सेवा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरूको रुपमा आकाशवाणी खरसाङले खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको सहकार्यमा विद्यार्थीहरुका निम्ति पोस्टर लेखन प्रतियोगिता अनि हाजिरी जवाब प्रतियोगिताको आयोजना गरेको छ। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको शुरुमा विद्यालयमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको नेतृत्वमा प्रधान अध्यापिका चन्द्रकला यल्मो, शिक्षिकागण, विद्यार्थीवर्ग, आकाशवाणी खरसाङका अधिकारीहरू एवं कर्मचारीवृन्दले स्वच्छता शपथ’ पाठ गरे। कार्यक्रममा ६ जना विद्यार्थीहरुद्वारा स्वच्छतामाथि तयार पारिएको पोस्टर प्रतियोगितामा निर्णायकद्वय आकाशवाणी खरसाङका अधिकारीहरू राजीब सुब्बा अनि मिङमा दोर्जे लामाले पोस्टरहरूको निरीक्षणपछि विजेता अनि उप विजेता विद्यार्थीहरुको नाम घोषणा गरेका थिए। पोष्टर प्रतियोगितामा बीसजना विद्यार्थीहरुले अंश ग्रहण गरेका थिए। यसमा दीक्षा राई प्रथम, छेसम घिसिङ दोस्रो अनि दीक्षा सुब्बा तेस्रो भएका छन्। त्यसरी नै स्वच्छतामाथि हाजिरी जवाब प्रतियोगिताको सञ्चालन योजना मोहरा अनि मनन तामाङले गरेका थिए। प्रतिभागी विद्यार्थीहरुलाई प्रमाणपत्र र पारितोषिकहरू वितरण गरिएको थियो। यस अवसरमा रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला यल्मोले स्वच्छताको महत्वबारे प्रकाश पार्दै वर्षभरि यसबारे सचेत रहने आह्वान् गरिन्।

कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशावाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आलेले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्। उनले आकाशवाणीमा सङ्गीत, गायन वाद्यवादन र संगीत रचना आदिमा अडिसनको निम्ति अनलाइन पोर्टल mas.prasarbharati.org मा अनलाइन फारम भर्नु पर्ने र यो अनलाइन पोर्टल अागामी २ अक्टोबरको दिन बन्द हुने पनि बताएका छन्।