खरसाङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20230929-WA0227.jpg

खरसाङ: लायन्स क्लब, भानु वेलफेयर अनि सहयोगी हातको संयुक्त तत्वावधानमा आज खरसाङको नयाँ बजारस्थित लायन्स क्लब अफिस परिसरमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। आजको शिविरमा स्वास्थ्य जाँच गराउन खरसाङको वार्ड नम्बर १७, १८ अनि खहरे बस्तीका बुजुर्ग व्यक्तिहरू आएका थिए। यल क्रममा ३ जनालाई मोतिबिन्दुको अपरेसनको निम्ति सिलगढी पठाइयो। शिविर विषयमा लायन्स क्लबका पूर्व गभर्नर पीसी अग्रवालले जानकारी दिँदै भने, “यस शिविरमा आँखा, दाँत, नाक , कान घाँटी अनि मधुमेहको नि:शुल्क जाँच भयो। यो शिविर विशेष गरी गाउँ अनि वार्डमा रहेका असहाय, वृद्ध व्यक्तिहरूको निम्ति आयोजना गरिएको हो। डाक्टरहरु सिलगढी लायन्स क्लबबाट आएका हुन्। यदि कुनै पनि व्यक्तिमा मोतिबिन्दु पाइयो भने लायन्स क्लबले नि:शुल्क अपरेसन पनि गराउने प्रबन्ध मिलाएको छ।”

खरसाङको खहरेस्थित सहयोगी हात संस्थाका सुमित्रा राईले शिविरमा आफ्नो सहभागिताबारे भनिन्, “गाउँ घरमा धेरै यस्ता बिरामीहरु छन् जो आफ्नो उपचारको निम्ति अस्पताल जानु पनि सक्दैनन् साथै उपचारको खर्च पनि गर्नु सक्दैनन्। यस्तै असहाय, वृद्ध व्यक्तिहरूको जाँचको निम्ति हामीले खरसाङका लायन्स क्लबसँग कुरा गर्यौ। उहाँहरूले पनि शिविर आयोजना गरिदिनु भयो। हामीले गाउँबाट वृद्ध अनि असहाय व्यक्तिलाई नि:शुल्क जाँच गराउनु सक्यौं। “
त्यसरी नै भानु वेलफेयर अर्गनाइजेसनका शशी थापाले भनिन्, “डाक्टर, दबाई उपलब्ध भएर मात्र हुँदैन। शिविर कहाँ लाग्छ, कसले लगाउँदैछ आदिको प्रचार प्रसार हुनु पनि अनिवार्य छ। लायन्स क्लबले हाम्रो सहयोग मागे अनि हाम्रो संस्थाले वार्डहरूमा मानिसहरूलाई जानकारी दिने कार्य गर्यौ। अस्पतालबाट नि:शुल्क वितरण गर्नुको निम्ति औषधिको बन्दोबस्त पनि गर्यौं।”

लायन्स क्लबका अध्यक्ष विकास गोयल भन्छन्, “शिविरको सफलता हाम्रो सामूहिक कार्यको कारण भएको हो। सहयोगी हातका सदस्यहरूले गाउँबाट बिरामी ल्याउने कार्य गरे, भानु वेलफेयरका सदस्यहरूले मानिस माझ पुगेर शिविरको विज्ञापन गरे, लायन्स क्लबले डाक्टर अनि जाँचको व्यवस्था गरे। हामी चाहन्छौ मानिसले घर दैलोमा नै स्वास्थ्य सेवा पाउनु सकोस।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement